
काठमाडौं । जुन काम असम्भव हुन्छ, त्यसलाई पूरा गर्न तम्सिन्छन् टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क । चाहे ड्राइभरविहीन कारको कुरा होस् वा लन्च गरेपछि रकेटलाई फिर्ता लन्च प्याडमा ल्याउने काम । उनी सफल पनि भएका छन् ।
मस्कले त्यस्तै एउटा लगभग असम्भवजस्तो लाग्ने कामलाई पूरा गर्ने प्रस्ताव दिएका छन् । यो प्रस्ताव हो- ट्रान्स अटलान्टिक सुरुङ । करिब ५ हजार किलोमिटर लामो यो सुरुङ न्युयोर्कदेखि लन्डनको बीचमा समुद्रमुनि बनाउने प्रस्ताव छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले आफ्नो बोरिङ कम्पनीले यो सुरुङ बनाउने काम पूरा गर्न सक्ने दावी गरेका हुन् । बेन्जिङगाको एक रिपोर्टअनुसार मस्कले भनेका छन् कि उनले यो काम अनुमानित खर्च (२० लाख करोड डलर) को तुलनामा १ हजार गुणा कम मूल्यमा गर्न सक्छन् । यस हिसाबले मस्कले यो सुरुङको निर्माण मात्र २० अर्ब डलरमा गर्न सक्छन् ।
के हो ट्रान्स अटलान्टिक सुरुङ ?
यो सुरुङ अटलान्टिक महासागरमुनि बनाउने चर्चा पछिल्ला धेरै वर्षदेखि चल्दै आएको छ । यो सुरुङ बनाउनुको उद्देश्य दुई देशबीचको आवातजावत छिटो गराउनु हाे ।
खासमा यो सुरुङको निर्माण हाइपरलूप रेल सुरु गर्नका लागि गर्ने कुरा चलिरहेको छ । हाइपरलूप एक उच्चगतिको रेल हो, जुन ट्युबभित्र भ्याकुममा चल्छ । यसको प्रस्ताव पनि मस्कले नै ल्याएका थिए ।
हाइपरलूप रेलका धेरै मोडेलहरू आइसकेका छन्, तर अहिलेसम्म कुनै पनि हाइपरलूप उच्चगतिको रेल सुरु भएको छैन । मानिएको छ कि यो सुरुङ बनेर यहाँ हाइपरलूप रेल सुरु भएपछि न्युयोर्कदेखि लन्डनसम्मको करिब ५ हजार किलोमिटरको दूरी मात्र एक घण्टामै पूरा हुनेछ ।
धेरै चुनौती
ट्रान्स अटलान्टिक सुरुङ बनाउन धेरै चुनौतीहरू देखिएका छन् । पहिले पनि लागत र अन्य कारणले यो सुरुङ बनाउने काम सुरु हुन सकेको छैन । बेन्जिङगाका अनुसार यो सुरुङ बनाउन उच्च प्रविधिको आवश्यकता पर्नेछ ।
मस्कले सुरुङ बनाउने जिम्मेवारी लिए पनि अहिलेसम्म यो सुरुङका लागि कुनै ठोस योजना, सरकारी स्वीकृति वा रकम छुट्याइएको छैन ।
के मस्कले बनाउनलान् त सुरुङ ?
मस्कले धेरै वर्षअघि हाइपरलूप रेलको अवधारणा प्रस्तुत गरेका थिए । उनले भनेका थिए कि यी रेलहरूमार्फत लामोदेखि लामो दूरी अति कम समयमा पूरा गर्न सकिन्छ । मस्कको हाइपरलूप अवधारणा आएको दश वर्षभन्दा बढी भइसक्यो र कुनै पनि रेल सुरु हुन सकेको छैन । के मस्क यसमा पनि सफल हुन सक्लान् ?