
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्न नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मसिर २८ गते बैठकवाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागत योग्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका थिए ।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका- २०८१ जारी गरेको हो ।
सरकारको यो निर्णयवाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ ।
सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने महासंघको विश्वास रहेको समेत अध्यक्ष ढकालले बताए ।