
काठमाडौं । आठौं संस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिने भएको छ ।
उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म आठौं संस्करणको विराट एक्स्पो हुन लागेको हो ।
उक्त एक्स्पोमा आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्तर्गत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरेको हाे ।
माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन् ।
एक्स्पो अवधिमा डिजिटल प्लेटफर्ममार्फत आफै मोबाइलमार्फत आफ्नो उद्योगको व्यवस्थापकीय क्षमताका आंकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाइएको छ ।
यो स्वः परीक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न केके गर्नु पर्दछ, कुनकुन विषयमा क्षमता विकास गर्नुपर्दछ भन्नेबारे जानकारी उपलब्ध गराउने उद्योग संगठनले जनाएकाे छ ।
यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।