
काठमाडौं । टाटा समूहको आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस)को ब्रान्ड मूल्याङ्कन २१.३ अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै यो दोस्रो ठूलो विश्वव्यापी आईटी सेवा ब्रान्ड बनेको छ ।
८२६ प्रतिशतको वृद्धि
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत १५ वर्षमा आफ्नो ब्रान्ड मूल्याङ्कन ८२६ प्रतिशतले बढेको बताएको छ । सन् २०१० मा टीसीएसको मूल्याङ्कन २.३ बिलियन डलर थियो ।
कम्पनीले नवप्रवर्तन, ग्राहक सन्तुष्टि र रणनीतिक मार्केटिङको पहलले यो स्तरको विकास सम्भव भएको जनाएको छ ।
२० अर्ब डलर नाघ्ने दोस्रो कम्पनी
ब्रान्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष डेभिड हेगले ब्रान्ड फाइनान्सले दुई दशकदेखि टीसीएसलाई पच्छाउँदै आएकाे बताए ।
उनले भने, ‘ब्रान्ड फाइनान्समा हामीले लगभग दुई दशकदेखि टीसीएसलाई पछ्याउँदै आएका छौं । कम्पनीले आफ्नो व्यवसायलाई कसरी नवीनता दिइरहेको छ र आफ्नो ब्रान्डलाई कसरी बढाइरहेको छ भन्ने कुराबाट म निरन्तर प्रभावित छु ।’
उनले टीसीएसको निरन्तर प्रयासले उनीहरूलाई एक कोसेढुङ्गामा पुर्याएको बताए ।
उनले भने, ‘ ब्रान्ड मूल्यमा २० अर्ब डलरको ऐतिहासिक अंक पार गर्ने उद्योगको दोस्रो कम्पनी टीसीएस बनेकाे छ । ब्रान्डलाई गर्वका साथ अगाडि बढाउने सबै ६ लाख कर्मचारीलाई बधाई छ ।’
ब्रान्ड मूल्य नौ गुणा बढ्यो
टाटा कन्सल्टेन्सी सर्भिसेजका प्रमुख मार्केटिङ अधिकृत अभिनव कुमारले टीसीएसको ब्रान्ड मूल्य नाै गुणाले बढेको जानकारी दिए ।उनले सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन् ।
दौडहरूको प्रायोजन
टीसीएसले विश्वभर १४ प्रमुख दौडहरूलाई प्रायोजन गर्दै आएको छ । जसमा न्यूयोर्क, लन्डन, बोस्टन, शिकागो जस्ता सहरहरू समावेश छन् । अब यसमा सिड्नीको नाम पनि थपिएको छ । यसमा प्रत्येक वर्ष ६ लाखभन्दा बढी धावकहरू संलग्न हुन्छन् र यसले फ्युचर एथलीट प्रोजेक्ट जस्ता पहलहरूलाई पनि समर्थन गर्दछ ।
कम्पनीले जगुआर टीसीएस रेसिङसँग पनि साझेदारी गरेको छ, जसले विश्वको पहिलो पूर्ण-विद्युतीय रेसिङ शृङ्खला, एबीबी एफआईए फर्मुला ई वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्छ ।