पढ्नेलाई शिक्षा, नपढ्नेलाई सीप

<p>काठमाडौं । ६ वर्षीय बालक । आमाबुवाको लाड प्यारमा हुर्कनु पर्ने,  साथीभाइसँगै खेल्ने र शिक्षकसँग  कखरा सिक्नु पर्ने समय । तर, कमल (नाम परिवर्तित) को कलिलो उमेर एउटा आश्रममा पुगेर अडियो । देशको दुर्गम जिल्ला हुम्लामा जन्मेका उनले सानै छँदा बुवा गुमाए । घरको खम्बा ढलेपछि परिवार शोकमा मात्रै डुबेन, सबै तितरबितर हुने अवस्था सिर्जना भयो [&hellip;]</p>

काठमाडौं । ६ वर्षीय बालक । आमाबुवाको लाड प्यारमा हुर्कनु पर्ने,  साथीभाइसँगै खेल्ने र शिक्षकसँग  कखरा सिक्नु पर्ने समय । तर, कमल (नाम परिवर्तित) को कलिलो उमेर एउटा आश्रममा पुगेर अडियो । देशको दुर्गम जिल्ला हुम्लामा जन्मेका उनले सानै छँदा बुवा गुमाए । घरको खम्बा ढलेपछि परिवार शोकमा मात्रै डुबेन, सबै तितरबितर हुने अवस्था सिर्जना भयो । कुरा आजभन्दा २५ वर्ष अगाडिको हो ।

हुम्लाका ती बालक आश्रममा पुग्नुको पछाडि उनको आर्थिक अवस्था थियो । उनी जन्मेको केही वर्षपछि उनको बुबाको निधन भयो । परिवारमा पैसा कमाउने मुख्य खम्बा ढलेपछि उनले पढ्न लेख्न पाउने अवस्था थिएन । केही व्यक्तिले बा-आमा नभएका अनाथ बालबालिकाको पालन पोषणसहित शिक्षा दिने संस्था खोजिदिने भन्दै काठमाडौं पुर्‍याए ।

कमललाई काठमाडौंको एउटा अनाथालयमा राखियो । जहाँ उनीजस्ता धेरै टुहुरा बालबालिकाहरू थिए । त्यही बेला टुहुरा, अनाथ सडक बालबालिकाको लागि शिक्षा दिने उद्देश्यले स्थापना भयो- युवा क्रियाकलाप उत्थान केन्द्र । जहाँ सडकमा भेटिएका बालबालिकालाई ल्याएर राखिन्थ्यो । यो संस्था स्थापना भइसकेपछि कमललाई यही संस्थामा राखियो । जहाँ उनी हुर्के, बढे र पढे पनि ।

हुम्लाबाट अनाथ बालकको रूपमा काठमाडौं ल्याएका कमल अहिले तन्नेरी बनिसकेका छन् । युवा क्रियाकलाप उत्थान केन्द्रमा रहेर स्नातकतह उत्तीर्ण गरे । अहिले उनी आफ्नै गाउँको विद्यालयमा सहायक प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । ६ वर्षमा काठमाडौं ल्याएका उनी अहिले युवा भएर गाउँ फर्किए । उनी कसरी काठमाडौं पुगे, कसले पुर्‍यायो भन्ने त्यति याद छैन उनलाई । तर, उनी आफूलाई यो स्थानमा पुर्‍याउने संस्था युवा क्रियाकलाप उत्थान केन्द्र रहेको बताउँछन् । 

एकताका काठमाडौं पढाइदिने भन्दै विकट गाउँका बालबालिकालाई काठमाडौं ल्याउने चलन निकै धेरै थियो । त्यो बेला पढाइदिने भन्दै काठमाडौं ल्याएका धेरैजसो बालबालिका अहिले कहाँ छन् पत्तै छैन । आर्थिक अवस्था कमजोर भएका, बाआमा नभएका बालबालिका काठमाडौंमा पहुँच भएकाहरूको नजरमा पर्थे ।

गाउँमा अभिभावकबाट पैसा उठाएर काठमाडौंका विभिन्न अनाथालयका ती बालबालिकालाई राखिन्थ्यो । कतिपय बालबालिका पढेर अहिले आफ्नै गाउँमा काम गरिरहेका छन् भने कोही काठमाडौंमा काम गरिरहेका छन् । तर यसरी ल्याइएका कतिपय बालबालिका अहिलेसम्म सम्पर्कविहीन छन् । उनी भने आफूले राम्रो संस्थामा बस्न र पढ्न पाएको भन्दै आफू यहाँसम्म पुग्नु यही संस्थाको हात रहेको बताउँछन् ।

असहायको सहारा युवा क्रियाकलाप उत्थान केन्द्र

यो केन्द्र असहाराको सहारा हो । जसले बाआमा गुमाउनुपरेको छ वा बाउआमा भएर पनि शिक्षा पाउन सक्ने अवस्था छैन वा सडकमा बस्नुपरेको छ, उनीहरूलाई यस संस्थाले राख्दै आएकाे छ । साथै संस्थाले अनाथ वा सडकमा रहेका बालबालिकालाई पनि राख्दै आएकाे छ ।

यस्ता बच्चाहरूको पालनपोषणसहित शिक्षादीक्षाको जिम्मेवारी पनि यही संस्थाले लिँदै आएको छ । युवा क्रियाकलाप उत्थान केन्द्रमा बसेर पढेका उनीजस्तै धेरै बालबालिका अहिले कोही स्वदेशमै छन् भने कोही विदेश पुगेका छन् ।

कोही नेपालमै आफैले अध्ययन गरेको कलेजमा पढाइरहेका छन् भने कोही आफ्नो जन्मभूमि खोज्दै फर्किएका छन् । युवा क्रियाकलाप उत्थान केन्द्रका अध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार यो केन्द्रमा अध्ययन गरिरहेका विद्यार्थी कोही डेनमार्क, साउथ कोरिया, जापान छन् भने कोही अहिले नेपालमै अध्ययन गरिरहेका छन् ।  

यसरी स्थापना भयो संस्था

तेजप्रसादको घर झापा हो । उनी पढाइको सिलसिलामा काठमाडौं आए । अहिले उनी काठमाडौंको स्थायी बासिन्दा भइसके । उनलाई शिक्षा क्षेत्रमा काम गर्न बढी रमाइलो लाग्छ  । अहिले उनले आफ्नै वैकल्पिक विद्यालय सञ्चालन गरिरहेका छन्, जहाँ पढ्ने रहर हुँदा पढ्न नपाएका वा पढ्नुपर्छ भनेर पढ्न खोज्नेहरूले अध्ययन गरिरहेका छन् ।

विभिन्न कारणले पढाइ छोडेर फेरि पढ्नुपर्छ भन्ने भावना भएकाहरू उनको विद्यालयमा अध्ययन गरिरहेका छन् । उनैले युवा क्रियाकलाप उत्थान केन्द्र पनि सञ्चालन गरिरहेका छन् । 

तेजप्रसाद काठमाडौंमा बस्न थालेपछि उनको आऊजाऊ गर्ने बाटो बौद्ध चावहिल क्षेत्र थियो । त्यो बेला अहिलेको जस्तो सफा काठमाडौं थिएन ।  ठाउँठाउँमा ठूलाठूला फोहोरका डंगुर हुन्थे । उनले सडकमा मागिरहेका बालबालिका सधैं देखिरहेका थिए । हेर्दा नरमाइलो लाग्थ्यो । तर एकदिन उनले यस्तो दृश्य देखे जहाँ केही बालबालिका फोहोरमा खानेकुरा छानेर खाइरहेका थिए । यो दृश्यले उनको मन अमिल्यायो । उनलाई यस्ता बालबालिकालाई संरक्षण दिन मन लाग्यो ।

तेजप्रसादले आफ्ना साथीहरूसँग उक्त घटना सुनाए । उनीहरूले पनि यसमा सहमति जनाए । त्यो बेला काठमाडौंमा यस्ता अनाथ आश्रमहरू थुप्रै थिए ।  तर उनलाई अनाथ आश्रमको नाममा संरक्षणमा लिएइका बालबालिकाहरू हुर्काउनु थिएन ।  त्यसपछि संस्थाको नाम रह्यो युवा क्रियाकलाप उत्थान केन्द्र । २०५६ सालमा स्थपना भएको यो संस्थाले एचआइभी संक्रमित, टुहुरा, आफन्त कोही नभएका सडक बालबालिकालाई पालनपोषणसहित शिक्षा दिँदै आएको छ ।

पढाउनेदेखि हुर्काउनेसम्मको जिम्मा 

यो संस्थामा सुरुमा तीनजना सडकबाट उद्धार गरिएका बालबालिका थिए । बिस्तारै अरू बालबालिकाहरू पनि थपिँदै गए । उनीहरूलाई लिएर चावहिलको एउटा कोठामा राखियो । तेजप्रसाद र उनका साथीहरूले उनीहरूलाई बस्न, खानदेखि स्कुल पढाउने व्यवस्था गरे ।

संरक्षण केन्द्रमा आउँदा सबै बच्चाको उमेर ५, ६ वर्षको थियो । तेजप्रसादले अन्य साथीभाइलाई गुहारे । कसैले चाम, कसैले दाल दिन थाले । त्यही खाने कुरा लिएर उनले पकाएर बालबालिकालाई दिन थाले । नजिकका विद्यालयमा गएर बालबालिकालाई पढाइदिन अनुरोध गरे ।

‘केही शुल्क हामी तिर्थ्याैं, केही स्कुलले मिलाइदिन्थ्यो । यसरी हामीले ८० जनाभन्दा बढीलाई संरक्षण दिइसकेका छौं, ’ उनले भने । 

उनले ३० अनाथ, सडक बालबालिकालाई आश्रयस्थल दिएरै  सहयोग गरेका छन् भने ५० जनालाई शिक्षामा सहयोग गरेका छन् । 

अनाथ बालबालिका आफ्नै सन्तानजस्ता

संरक्षणमा राखेका सबै बालबालिकालाई तेजप्रसाद आफैले पकाएर दिन्थे । उनलाई बाहिर अन्य काममा पनि जानुपर्ने हुँदा उनले खान, बस्न र बालबालिकाको रेखदेखको जिम्मा श्रीमतीलाई लगाए । सँगै बस्ने अनि खाने गर्न थालेपछि सबै बालबालिकाले उनलाई बुवा भन्न थाले ।

उनलाई पनि यी बालबालिका आफ्नै सन्तान जस्तो लाग्छन् । ‘मैले यही मायामा र अरूले हेर्ने नजरमा फरक ल्याउन हाम्रो संस्थाको नाम युवा क्रियाकलाप उत्थान केन्द्र राखेको हुँ,’ उनी भन्छन्, ‘यहाँ आइसकेपछि उनीहरू टुहुरा होइनन्, उनीहरू संरक्षक हामी छौं भन्ने आभास होस् भन्ने मेरो चाहना हो । त्यसैले पनि उनीहरू मलाई बुवा अनि श्रीमतीलाई आमा भन्छन् ।’

यो संस्थाबाट पढेर घर फर्केका वा बाहिर गएकाहरू अहिले पनि तेजलाई फोन गर्छन् । उनीहरूले फादर्स डेमा सम्झन्छन् । नजिक हुने भेट्न आउँछन् भने टाढा हुनेहरू फोनबाट सम्झन्छन् । 

पढ्नेलाई शिक्षा नपढ्नेलाई सीप

तेजप्रसादकाे संरक्षणमा आएका सबैजसो बालबालिका अध्ययन गरिरहेका छन् । कतिपय बालबालिका पढ्ने मन लगाउँदैनन् । पढ्न मन नभएकाहरूलाई उनीहरूले चाहेअनुसार सीप सिकाउने गरिएको छ ।

सबैले किताब नै पढ्नुपर्छ भन्ने हुँदैन, कसैलाई पढाइबाहेक अन्य क्षेत्रमा रुचि हुन सक्छ । यस्तो बालबालिकालाई पढ्नैपर्छ भन्ने दबाब दिइँदैन,’ उनी भन्छन्, ‘हाम्रो एकजना बाबुले राम्रो आर्ट गर्छन्, उनी राष्ट्रिय स्तरको प्रतियोगीतामा समेत सामेल भएका छन् । कोही गीत गाउँछन्, कोही राम्रो डान्स गर्छन्, उनीहरूको रुचिअनुसार हामी सहयोग गर्छौं ।’

उनको संस्थामा बालबालिकाहरूका लागि छुट्टै नियम बनाइएको छ । जहाँ बालबालिकाले धेरै मोवाइल प्रयोग गर्न मिल्दैन । मोबाइल हेर्ने निश्चित समय बनाइएको छ । तेजप्रसाद आजभोलिका बालबालिकाले मोबाइलबाट राम्राभन्दा धेरै नराम्रा कुरा सिकिरहेको बताउँछन् ।

बाध्यताले सडकमा बालबालिका 

बालबालिका तब सडकमा आउँछन् जब घरमा राम्रो व्यवस्था हुँदैन । कोही बालबालिकाकाको बुवाआमा हुँदैनन्, कसैको बुवा हुँदैनन् आमा हुन्छन्, आमाले हेरचाह गर्न नसकेर पनि बच्चा सडकमा आउँछन् । यसैगरी, कतिपय बलात्कृत भएका महिलाबाट जन्मेका बच्चाहरू पनि सडकमा आउँछन् ।

तर, आजभोलि पहिलेको जस्तो अवस्था छैन । पहिले सडक जताततै माग्न बस्ने, फोहोरबाट खानेकुरा टिपेर खाइरहेको दृश्य सायदै देखिँदैन । अहिले राज्यको नीति नियम छ । अहिले घरमा कुनै एक बुवा अथवा आमा छैन भने अर्को भएको एक जनाले पाल्नुपर्छ, आमावुवा दुवै छैनन् भने आफन्तले पाल्नुपर्छ, आफन्त पनि कोही छैन भने त्यसको जिम्मा सरकारले लिने नीति बनेको छ ।

यही कारण पनि पहिले जस्तो बालबालिका अहिले सडकमा देखिँदैनन् । अहिले स्थानीय सरकारले पनि यस्ता बालबालिकाहरूको जिम्मा लिने गरेको छ । तर नेपाल र भारतको खुल्ला सिमाका कारण पनि यो समस्या कतै देखिने गरेको उनी बताउँछन् । अहिले काठमाडौंका सडकमा अहिले पनि भारतका बालबालिका देखिरहेका छन् । 

शिक्षा मन्त्रालयबाट २ लाख पाउँदा

यो संस्थाले बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको बताउँदै शिक्षा मन्त्रालयले पुरष्कृत पनि गरेको छ । दुर्व्यसनमा फसेका, सडक बालबालिकालाई शिक्षा दिन सहयोग गरेको भन्दै मन्त्रालयले गत असोजमा उत्कृष्ट संस्था भन्दै यो वर्षको समाज कल्याण शिक्षा पुरस्कार दिएको हो । 

उक्त पुरस्कारकाे राशि २ लाख रुपैयाँ रहेको थियो ।  संस्थालाई पुरिष्कृत हुँदा थप जिम्मेवारी बढेको आभास भएको तेजप्रसादकाे भनाइ छ । 

Share News