चिनियाँ ‘वाटर बम’ काे बदलामा भारतीय अरुणाचल

<p>काठमाडाैं । चीनले यार्लुङ साङ्पो नदीमा जलविद्युत् आयोजनाका लागि बाँध बनाउँदै छ । यो संसारको सबैभन्दा ठूलो बाँध हुने बताइएकाे छ । चीनको यो बाँधले ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसलाई ‘वाटर बम’ पनि भनिन्छ । चीनको यो परियोजनामाथि विश्वका धेरै देशले प्रश्न उठाएका छन् । यसै क्रममा भारतले [&hellip;]</p>

काठमाडाैं । चीनले यार्लुङ साङ्पो नदीमा जलविद्युत् आयोजनाका लागि बाँध बनाउँदै छ । यो संसारको सबैभन्दा ठूलो बाँध हुने बताइएकाे छ । चीनको यो बाँधले ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसलाई ‘वाटर बम’ पनि भनिन्छ ।

चीनको यो परियोजनामाथि विश्वका धेरै देशले प्रश्न उठाएका छन् । यसै क्रममा भारतले पनि चीनको बाँधको जवाफ बाँधबाट दिने तयारी गरेको छ । चीनको यो यार्लुङ साङ्पो नदी अरुणाचल प्रदेशमा सियाङ र असममा ब्रह्मपुत्रको रूपमा चिनिन्छ ।

भारतको तयारी

भारतले अरुणाचल प्रदेशमा आफ्नो सबैभन्दा ठूलो जलविद्युत बाँध बनाउने तयारी गरिरहेको छ । इकोनोमिक टाइम्सका अनुसार २.४ अर्ब रुपैयाँ लागतको यो परियोजनामा ​​९.२ अर्ब घनमिटर (बीसीएम) पानी भण्डारण क्षमता हुनेछ । यो ४ सय ६५ मिटर अग्लो बाँध सियाङ नदी (ब्रह्मपुत्र) मा बन्न लागेको हो । यो बाँध म्याकमोहन रेखाको छेउमा रहेको मेडोग नदीमा चीनले बनाएको ठूलो बाँधको प्रतिरोध गर्ने उद्देश्य राखेको छ ।

अर्को महिनादेखि तयारी सुरु हुने

अरुणाचल प्रदेशमा बन्ने यो बाँधको तयारी अर्को महिनादेखि सुरु हुनेछ । अरुणाचल प्रदेशको सियाङ जिल्लाको परोङ गाउँलाई यस परियोजनाका लागि छनोट गरिएको छ । ड्रिलिङ मेसिन अर्को महिना अध्ययनका लागि यहाँ पुग्ने अपेक्षा गरिएको छ । अधिकारीहरूका अनुसार साइटको पूर्व सम्भाव्यता अध्ययन गर्न करिब एक महिना लाग्न सक्छ ।

सन् २०१७ मै बाँध बनाउने प्रस्ताव

अरुणाचल प्रदेशमा यो बाँध बनाउने प्रस्ताव पहिलो पटक सन् २०१७ मा आएको थियो । त्यसपछि केही आन्दोलन पनि भए । जसका कारण यो आयोजनाको प्रगति निकै सुस्त भएको छ । अब चीनले तिब्बतको यो नदीमा बाँध बनाइरहेको बेला भारतले पनि अरुणाचल प्रदेशमा यो बाँध बनाउने चर्चालाई तीब्र बनाएको छ ।

फाइदा र बेफाइदा

यो बाँध निर्माण भएसँगै ११ हजार मेगावाट विद्युत उत्पादन हुने जनाइएकाे छ । यस बाँधको ठूलो जलाशयले आगामी मेदोग बाँधतर्फ नदीको बहावमा सुधार ल्याउने सरकारको भनाइ छ । यसले अचानक बाढी वा पानीको कमीबाट पनि सुरक्षा गर्नेछ ।

यस बाँधका केही खतराहरू पनि अल्जजीराको रिपोर्टमा उल्लेख गरिएको छ । रिपाेर्टका अनुसार करिब २० गाउँ डुबानमा पर्ने स्थानीयले चेतावनी दिएका छन् । दुई दर्जनभन्दा बढी गाउँहरू आंशिक रूपमा डुब्ने र हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाउने जनाइएकाे छ ।

 ‘वाटर बम’ विरुद्ध भारतकाे बाँध

चीनको बाँधलाई वाटर बम भनिएको छ किनभने यदि यो बाँधबाट चीनले पानी छोड्यो भने यसले भारतको उत्तर-पूर्वी भागमा ठूलो असर पार्नेछ । यसले धेरै क्षेत्र पूरै जलमग्न हुनेछन् ।

चीनमा बाँधको अनुमानित भण्डारण क्षमता ५.५ बीसीएम रहेको र भारतकाे ९.२ बीसीएम रहेको एक अधिकारीले बताए । त्यसैले चीनले यस बाँधबाट सबै पानी छोडे पनि भारतकाे बाँधमा त्यति पानी सोस्ने क्षमता हुनेछ । (एजेन्सीहरूकाे सहयाेगमा)

Share News