मियामी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका हुन् ।
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।
ट्रम्पले भने, ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन् । त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु, जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।’
पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार ट्रम्पको उक्त भनाइ आएको हो ।
अटुट समर्थन
ट्रम्प प्रशासनले इजरायललाई ‘अटुट समर्थन’ गर्ने वचन दिएको छ, तर मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउन्ड बराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन् ।
‘हामीले त्यसलाई छोडिदियौं । हामीले त्यसलाई आज पठाएका छौं’, ट्रम्पले इजरायलले माग गरेका र पूर्ववर्ती सरकारले रोकेका विस्फोटक पदार्थ इजरायलतर्फ पठाइएको पुष्टि गर्दै भने, ‘उनीहरूले त्यस (विस्फोटक पदार्थ)का लागि पैसा तिरी लामो समयदेखि पर्खिरहेका छन् ।’
सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइनी इस्लामी समूह (हमास) ले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले प्यालेस्टाइनी भूभागको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ र पूर्वाधारहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माणमा धेरै वर्ष लाग्ने अनुमान गरेको छ।
गत अक्टोबरमा आफ्नो चुनावी अभियानका क्रममा पूर्व रियल स्टेट डेभलपरसमेत रहेका ट्रम्पले युद्धग्रस्त गाजालाई ‘सही तरिकाले पुनर्निर्माण गरिएमा मोनाकोभन्दा राम्रो’ हुने सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए ।
ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका पूर्वकर्मचारी जारेड कुश्नरले गत फेब्रुअरीमा इजरायलले गाजालाई सर्वसाधारणको वस्तीका रूपमा खाली गर्न सुझाव दिएका थिए ।
प्यालेस्टाइनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । अरब जगतले प्यालेस्टाइनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयास इजरायलको स्थापनाको समय अर्थात् ७५ वर्षअघि प्यालेस्टाइनीहरूको सामूहिक विस्थापनको अँध्यारो ऐतिहासिक सम्झनाहरू जगाउनेछ ।
इजरायलले गाजावासीलाई अन्यत्र जान बाध्य पार्ने कुनै योजना नरहेको बताउँदै आएको छ, तर इजरायली सरकारका केही अति दक्षिणपन्थी सदस्यहरूले सार्वजनिक रूपमा गाजावासीहरूले प्यालेस्टाइनी भूमि सामूहिक रूपमा छोड्नुपर्ने विचारको समर्थन गरेका छन् । रासस