
काठमाडौं । एप्पल कम्पनीका आईफोनहरू अब स्पेसएक्सको स्टारलिंकसँग सिधा मोबाइल नेटवर्क क्षमता परीक्षण गर्न योग्य भएका छन् । यस सेवाले उपग्रहमार्फत मोबाइल सञ्जाल प्रदान गर्ने जनाइएको छ ।
टी-मोबाइल र एलन मस्कको स्पेसएक्सले गत वर्ष नोभेम्बरमा अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) बाट स्वीकृति पाएपछि स्टारलिंकको मोबाइल नेटवर्क परीक्षण गरिरहेका छन् ।
टी-मोबाइलको वेबसाइटका अनुसार हाल परीक्षणमा ’स्याटेलाइटमार्फत टेक्स्ट पठाउने’ सेवा मात्र उपलब्ध छ, तर भविष्यमा भ्वाइस र डेटा सेवा पनि थपिनेछ ।
सुरुमा टी-मोबाइलःले केही एन्ड्रोइड स्मार्टफोनहरूलाई मात्र परीक्षणका लागि योग्य बनाएको थियो, तर अहिले नयाँ आईओएस १८.३ अपडेटपछि आईफोनहरूलाई पनि समावेश गरिएको छ ।
ब्लुमबर्ग न्यूजले एप्पल, स्पेसएक्स र टी-मोबाइल गोप्य रूपमा आईफोन सफ्टवेयरमा स्टारलिंक नेटवर्कको समर्थन थप्न काम गरिरहेको जनाएकाे छ । यद्यपि एप्पर र स्पेसएक्सले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
गत वर्ष अक्टोबरमा एफसीसीले स्पेसएक्स र टी-मोबाइललाई स्टारलिंक स्याटेलाइटहरूलाई सिधा मोबाइल नेटवर्क प्रदान गर्न अनुमति दिएको थियो । त्यतिबेला उत्तर क्यारोलिनामा आँधी हेलिनले क्षति पुर्याएको थियो र उक्त क्षेत्रमा मोबाइल सेवा पुन: स्थापित गर्न अनुमति दिएको हो ।