
काठमाडौं । अमेरिकाको वाशिङ्गटन डीसी नजिकै अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० यात्रु र ४ जना चालक दलका सदस्यहरू थिए ।
प्रहरी अधिकारीहरूले अहिलेसम्म १८ जनाको शव फेला परेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमान बम्बार्डियर कम्पनीको सीआरजे ७०० मोडलको थियो र वाशिंगटनबाट कान्सास गइरहेको थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो ।
बचाव तथा खोजी कार्य अहिले पनि जारी छ ।
स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्गटन नेशनल एयरपोर्टको नजिक यो दुर्घटना भएको हो । उक्त विमानले रीगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो । दुर्घटनापछि ठूलो संख्यामा उद्धार टोली, १० भन्दा बढी एम्बुलेन्स र ट्रक घटनास्थलमा पुगेका छन्।
रीगन एयरपोर्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूरानो ट्वीटर) मा घोषणा गर्दै सबै उडानहरू हालका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।