
काठमाडौं । ललितपुर महानगरपालिकाले ए, बी र सी डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई सम्मान गरेको छ ।
महानगरले डिभिजनका फुटबल क्लब र गोल्डकप विजेता क्लबहरुलाई क्षमता अभिवृद्धिसँग फुटबल खेलमा उत्कृष्ट भएकोमा महानगरले आर्थिक सहयोगसहित सम्मान गरेको हो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले क्लबहरूलाई सम्मानपत्रसहित चेक हस्तान्तरण गरे ।
गोल्डकप विजेता क्लब चर्च ब्वाइज युनाइटेड, फुटबल क्लबलाई २० लाख हस्तान्तरण गरिएको छ । यो क्लबले अर्ना छैठौं झापा गोल्डकप २०८०, १४ औं कन्ट्रोल इटहरी गोल्डकप २०८०, सातौं अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप, २०८१, प्रथम झापा क्लब, २०८१, एघारौ.फाल्नुनन्द गोल्डकप हासिल गरेको थियो । यसैगरी, बिग्रेड ब्वाईज क्लबलाई आठ लाख हस्तान्तरण गरिएको छ।
बिग्रेड ब्वाइज क्लबले छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप र अन्तराष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप खुल्ला नकआउट फुटबल नकआउट प्रतियोगितामा गोल्डकप हासिल गरेको थियो ।
सम्मानित हुनेमा ए डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेण्डस क्लब, सातदोबाटो युवा क्लब, चर्च ब्वाइज युनाइटेड रहेका छन् ।
बी डिभिजन क्लब अन्तर्गत च्यासल युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, खुमलटार युवा क्लब रहेका छन् । डी डिभिजन क्लब अन्तर्गत खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्टस क्लब, सानेपा क्लब रहेका छन् ।
ए डिभिजन क्लब अन्तर्गत रहेका ५ वटा क्लबहरू प्रत्येकलाई ५/५ लाखका दरले, बी डिभिजन क्लब अन्तर्गत रहेका ३वटा क्लब प्रत्येकलाई ३/३लाखका दरले र सी डिभिजन क्लब अन्तर्गत रहेका ४ वटा क्लब प्रत्येकलाई २/२ लाखका दरले चेक हस्तान्तरण गरिएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले यो सहयोग खेलाडी र क्लबलाई प्रोत्साहन गर्न महानगरले खेल क्षेत्रमा गरेको महत्त्वपूर्ण र ठूलो लगानी भएको बताए।
सामाजिक विकास समितिका संयोजक तथा महानगरका प्रवक्ता राजु महर्जनले क्लब सञ्चालन गर्नु, खेलाडीको संरक्षण गर्नु जिम्मेवारीपूर्ण काम भएको बताए।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले खेलाडीकोसम्मान गर्दै सहयोग गर्न पाएको खुशी लागेको बताए ।