
काठमाडौं । अमेरिकी रिसर्च तथा लगानी कम्पनी हिन्डेनबर्ग रिसर्चको एक रिपोर्टका कारण अडानी ग्रुपको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । हिन्डेनबर्ग रिसर्चले एक अन्तर्वार्ताका क्रममा अडानी ग्रुपलाई किन निशाना बनाइयो भन्ने बारेमा खुलासा गरेको छ ।
अहिले हिन्डेनबर्ग कम्पनी बन्द भइसकेको छ । कम्पनीका संस्थापक नथान एन्डरसनले कानुनी वा अन्य जोखिमका कारण व्यवसाय बन्द नगरेको बताए ।
अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामी कुनै कानुनी वा अन्य जोखिमका कारण हाम्रो व्यवसाय बन्द गरिरहेका छैनौं र हामीले जारी गरेका सबै रिपोर्टहरूमा अझै पनि दृढ छौं ।’
एन्डरसनका अनुसार हिन्डेनबर्गको जनवरी २०२३ मा प्रकाशित अडानी ग्रुपविरुद्धको रिपोर्ट विभिन्न समाचारमाध्यमहरूमा ग्रुपबारे आएका समाचारहरूको परिणाम थियो । हिन्डेनबर्गले अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको थियो ।
अडानीविरुद्धको रिपोर्टपछि भारतमा चर्चित हिन्डेनबर्ग
गौतम अडानी र उनको समूहविरुद्ध रिपोर्ट प्रकाशित गरेपछि हिन्डेनबर्ग रिसर्च भारतमा व्यापक चर्चाको विषय बन्यो । यद्यपि अडानी ग्रुपले रिपोर्टमा लगाइएका सबै आरोपहरूको पटक-पटक खण्डन गर्यो । एन्डरसनले केही मानिसहरूद्वारा हिन्डेनबर्गलाई ओसीसीआरपी र जर्ज सोरसजस्ता भारतविरोधी समूहहरूसँग जोड्ने प्रयासलाई ‘मूर्खतापूर्ण षड्यन्त्र’ को उपमा दिए ।
एन्डरसनले भने, ‘हामी यस्तो षड्यन्त्रकारी सोचलाई बढावा नदिने नीति अपनाउँछौं, त्यसैले हामीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनौं ।’
हिन्डेनबर्ग रिसर्च कम्पनी किन बन्द गरियो ?
हिन्डेनबर्ग रिसर्चले विभिन्न कम्पनीहरूमाथि ठगीको आरोप लगाउँदै विस्तृत रिपोर्टहरू प्रस्तुत गर्दै आएको थियो । तर गत महिना एन्डरसनले आफ्नो कम्पनी बन्द गर्ने घोषणा गरे ।
कम्पनी अरू कसैलाई किन हस्तान्तरण गरिएन भन्ने प्रश्नमा उनले भने, ‘हिन्डेनबर्ग मेरो पर्याय नै हो । यदि यो कुनै सफ्टवेयर एप वा साइकल कारखाना हुन्थ्यो भने यसलाई बेच्न सकिन्थ्यो । तर जब कुरा मेरो अनुसन्धानको आउँछ, यसलाई कसैलाई दिन सम्भव छैन ।’
तर उनले हिन्डेनबर्गको टोलीले भविष्यमा कुनै नयाँ ब्रान्ड ल्याएमा आफूले समर्थन गर्ने बताए ।
यस कारण बनाइयो अडानीलाई निशाना
एन्डरसन पहिलो पटक इलेक्ट्रिक ट्रक कम्पनी निकोलाविरुद्ध रिपोर्ट प्रकाशित गरेर चर्चामा आएका थिए । उनले कार्ल इकानको इकान इन्टरप्राइजेज लगायतका ठूला वित्तीय कम्पनीहरूलाई पनि निशाना बनाएका थिए ।
हिन्डेनबर्गको रिपोर्ट विशेष गरी अडानी ग्रुपविरुद्धको रिपोर्टबारे सोध्दा उनले भने, ‘हामी हाम्रो सबै अनुसन्धान निष्कर्षहरूसँग पूर्ण रूपमा अडिग छौं ।’
हिन्डेनबर्गले जनवरी २०२३ मा प्रकाशित रिपोर्टमा अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो घोटाला’ गरेको आरोप लगाएको थियो । रिपोर्टमा अडानी ग्रुपले सेयर मूल्यमा हेरफेर गरेको र वित्तीय अनियमितता गरेको दाबी गरिएको थियो । यसपछि ग्रुपका कम्पनीहरूको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । अडानी ग्रुपले भने यी सबै आरोपहरू अस्वीकार गरेको थियो ।
भारतविरोधी भएको आरोप ?
उच्चतम अदालतले हिन्डेनबर्ग रिपोर्टसँग सम्बन्धित याचिका खारेज गरिसकेको छ । समयक्रमसँगै अडानी ग्रुपले आफ्नो व्यावसायिक प्रदर्शन बलियो बनाउँदै गएको छ र बजारमा गुमाएको मूल्य पुनः प्राप्त गर्न सफल भएको छ ।
हिन्डेनबर्गले भारतको सेयर बजार नियामक संस्था सेबीकी अध्यक्ष माधबी पुरी बुचमाथि पनि ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को आरोप लगाएको थियो । हिन्डेनबर्गका अनुसार यही कारण अडानी ग्रुपविरुद्ध गहिरो अनुसन्धान हुन सकेन । तर बुचले यी आरोपहरू अस्वीकार गर्दै आफू नियामक प्रमुख बन्नुअघि नै अडानीले लगानी गरिसकेको र उनले सबै आवश्यक नियमनहरू पालन गरेकी बताएकी थिइन् ।
हिन्डेनबर्गको रिपोर्टलाई भारत विरोधी दृष्टिकोणबाट हेरियो नि भन्ने प्रश्नमा एन्डरसनले भने, ‘हामी सधैं भारतको क्षमतामा विश्वास गर्छौं । पारदर्शिता र मजबुत कर्पोरेट प्रशासन भारतको विकास कथा सफल बनाउनका लागि प्रमुख तत्वहरू हुन् ।’
हिन्डनबर्ग रिसर्चको स्थापना २०१७ मा भएको थियो । यसको अन्तिम प्रकाशित रिपोर्ट अनलाइन कार खुद्रा विक्रेता कारवानासम्बन्धी थियो ।