काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।
गत पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ११.८८ प्रतिशत घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेर ४० करोड १ लाख रुपैयाँ छ भने कुल खर्च १२.३८ प्रतिशत घटेर ४४ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा कुल नाफा ५० करोड ४२ लाख रुपैयाँ र कुल खर्च ५० करोड ९४ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८.५५ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोष ६.७८ प्रतिशत घटेर ४ अर्ब १० करोड ९४ लाख रुपैयाँ छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३.८३ रुपैयाँ घटेर २.०८ रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको मूल्य अनुपात २५५.७६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ छ ।
विकास निर्माण क्षेत्रमा सिथिलता रहेको, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन गर्ने उद्योगहरुको क्षमता अत्याधिक रहेको, विकास निर्माणसंग सम्बन्धीत सरकारी परियोजनाहरुका लागि छुट्याईएको बजेट अत्यन्तै न्यून हुने गरेको लगायत कारणले निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुलाई सकारात्मक असर गर्ने अवस्थामा तात्विक सुधार नभएको कम्पनीले जनाएको छ ।
साथै नेपाल विद्युत प्राधिकरणले सुख्खायाम शुरु भएको भन्दै दैनिक १२ घण्टासम्म विद्युत कटौती गरी अघोषित लोडसेडिङ समेत गरेका कारण उत्पादन लागत वृद्धि भएको कम्पनीको गुनासो छ । विकास निर्माणको सिजन शुरु भएता पनि सिमेन्टको माग र खपत अपेक्षाकृत वृद्धि नभएको अवस्था छ ।