
काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक तथा विश्वका धनी व्यक्तिहरूमध्ये एक बिल गेट्सले सातामा ८० घण्टा काम गरेको बताएका छन् ।
सीएनबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले एक डरले गर्दा सातामा ८० घण्टा काम गरेको जानकारी दिए ।
बिल गेट्सले भने, ‘अरबपति भएपछि पनि मैले कम्पनीको लागि कोडिङ गरेको छु । यसको लागि मैले हप्तामा ८० घण्टा काम गरेको छु ।’
‘अरबपति बनेको एक दशकभन्दा बढी समयपछि मात्र मैले वास्तवमा सफलता महसुस गरेको छु,’ उनले थपे ।
किन गर्थे यति धेरै काम ?
बिल गेट्सले माइक्रोसफ्टको स्थापना सन् १९७५ मा गरेका थिए । उनले अन्तर्वार्ताको क्रममा ९० को दशकको अन्त्यसम्म नियमित रूपमा हप्तामा ८० घण्टा सफ्टवेयर कोडिङ गरेको जानकारी दिए ।
उनलाई डर थियो कि यदि उनले यति मेहेनत गरेनन् भने कम्पनीलाई नोक्सानी हुन सक्छ । साथै एउटा सानो गल्तीले पनि कम्प्युटर क्रान्तिमा अग्रणीको रूपमा माइक्रोसफ्टको स्थान हराउन सक्छ ।
त्यस समयमा माइक्रोसफ्ट विश्वको सबैभन्दा धनी कम्पनी थियो । यसको बजार पूँजी २५० अर्ब डलरभन्दा बढी थियो । फोब्र्सका अनुसार त्यस समय बिल गेट्स आफै विश्वका सबैभन्दा धनी व्यक्ति थिए । उनको नेटवर्थ ५८ अर्ब डलर थियो ।
उनले सीएनबीसीलाई भने, ‘९० को दशकको अन्त्यसम्म मलाई केही गल्ती गरेर पनि ठीक हुन सकिन्छजस्तो लाग्दैनथ्यो । त्यसबेलासम्म मलाई लाग्थ्यो कि म मृत्युदेखि एउटा गल्ती मात्र टाढा छु । मेरो मानसिकता यस्तो थियो ।’
अहिले ४.८ लाख करोड डलरको कम्पनी
ब्लूमबर्गका अनुसार माइक्रोसफ्ट अहिले ४.८ लाख करोड डलरको कम्पनी बनेको छ । बिल गेट्स १६५ अर्ब डलरको सम्पत्तिसहित विश्वका सातौं धनी व्यक्ति हुन् ।
उनी अहिले कम्पनीको दैनिक कार्यबाट टाढा छन् । उनको पूरा ध्यान परोपकारी कार्यहरूमा केन्द्रित छ । उनले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरेका छन् । यो फाउन्डेशनले विश्वभर स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन जस्ता विषयहरूमा काम गर्दछ । (एजेन्सीहरूको सहयोगमा)