
काठमाडौं । जापानको सेवन बैंकले आफ्ना ग्राहकहरूका लागि अनुहार पहिचान (फेस रिकग्निशन) प्रविधि सुरु गरेको छ ।
यस प्रविधिको माध्यमबाट ग्राहकहरूले देशभरिका २ लाख ६ हजार एटीएमबाट पैसा निकाल्न सक्नेछन् र साथै पैसा जम्मा पनि गर्न सक्नेछन् । यो सुविधालाई ‘फेस क्यास’ नाम दिइएको छ ।
यस सुविधाको माध्यमबाट ग्राहकहरूले बैंकको एटीएमबाट कार्ड वा स्मार्टफोन नभए पनि पैसा जम्मा गर्न वा निकाल्न सक्नेछन् । पहिलो पटक यो प्रविधि प्रयोग गर्नका लागि ग्राहकहरूले आफ्नो अनुहारको जानकारी दर्ता गराउनु पर्नेछ र त्यसपछि उनीहरूले पासवर्ड र कोड नम्बर प्रयोग गरेर पैसा निकाल्न सक्नेछन् ।
यो सेवा सेवन बैंक र टेक कम्पनी एनईसीले मिलेर विकास गरेका हुन् । यसले पहिचान चोरी गरी हुने धोकाबाट बचाउने विश्वास बैंकले लिएको छ । सेवन बैंकले अन्य बैंकहरूलाई पनि आफ्ना खाता धनीहरूका लागि फेस क्यास प्रयोग गर्न प्रोत्साहित गर्न चाहेको जनाएको छ ।
यसको कारण के हो भने सेवन बैंकले अन्य बैंकिङ संस्थाहरूबाट एटीएम शुल्क प्राप्त गर्छ । बैंकले यो प्रविधि धेरै सजिलो, सुविधाजनक, विश्वसनीय र सुरक्षित पनि भएको बताएको छ ।
सेवन बैंकको मूल कम्पनी सेवन एण्ड होल्डिङ्स कम्पनी हो । यसको मुख्यालय टोकियोको चियोदा सिटीमा छ । यसको स्थापना १० अप्रिल २००१ मा भएको थियो र यसका अध्यक्ष यासुआकी फुनातेके हुन् । यसका सहायक कम्पनीहरूमा एएक्सएम प्लेटफर्म (फिलिपिन्स) र एफसीटीआई (संयुक्त राज्य अमेरिका) समावेश छन् ।