काठमाडौं । पुँजी बजारमा उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ) क्षेत्रका विभिन्न ९ कम्पनी सूचीकृत छन् । थोरै कम्पनी सूचीकृत भएपनि यो क्षेत्रमा लगानीकर्ताको भने आकर्षण बढ्दो छ । उत्पादन तथा प्रशोधन कम्पनीले दिने प्रतिफल अन्य क्षेत्रको भन्दा धेरै र सेयर मूल्य पनि उच्च भएकाले यो क्षेत्रप्रति सबैको चासो रहन्छ ।
पुँजी बजारमा सूचीकृत ९ वटा उत्पादन तथा प्रशोधन कम्पनीमध्ये चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा रिलायन्स स्पिनिङ्ग मिल्स, हिमालयन डिष्टिलरी, सर्वाेत्तम सिमेन्ट, नेपाल ल्यूव आयल र युनिलिभर नेपालको नाफा बढेको छ । तर, समीक्षा अवधिमा घोराही सिमेन्ट, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र सोनापुर मिनरल्स एण्ड आयलको नाफा ऋणात्मक छ ।
घोराही सिमेन्टको चालु आव २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ६६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको नाफा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१३ प्रतिशत बढेर १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
तर, यस अवधिमा कम्पनीको बिक्री लागत १ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुसमा कम्पनीको बिक्री लागत १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ ऋणात्मक थियो ।
कम्पनीको कुल नाफा ३९.६८ प्रतिशत घटेर ११ करोड ७४ लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा १९ करोड ४७ लाख रुपैयाँ थियो ।
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५४.०२ प्रतिशत घटेर १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.६० रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढी उत्पादन भएको र प्रतिस्पर्धात्मक अवस्थामा बिक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको, बिक्री दरमा केही वृद्धि भएको तर अपेक्षा गरे अनुरुप नबढेको, लागतमा भएको वृद्धि, यस अवधिमा युनिट १ को ब्याज खर्चमा लेखांकन गरेको र सो युनिटको ह्रास खर्चलाई नाफा नोक्सानमा लेखिएकोले यस संस्थाका दोश्रो त्रैमासिकमा आम्दानी घट्न गएको हो ।
आगामी अवधिमा भौतिक संरचनाहरुको निर्माण कार्यमा पनि वृद्धि आउने हुँदा सिमेन्टको मागमा वृद्धि आउने समय रहेको विगतको अनुभवबाट अनुमान गर्न सकिन्छ । सो समयमा सिमेन्टको मागमा वृद्धि आउने भएकोले बिक्री बितरणमा पनि वृद्धि आउने अपेक्षा कम्पनीले गरेको छ । क्षमता विस्तारबाट धेरै सहज हुने, नयाँ प्लान्टमा लाग्ने प्रत्यक्ष खर्चमा कटौती हुने र उत्पादन लागत समेत घट्ने र निर्यात व्यापारमा पनि सुधार आउने कम्पनीको व्यवस्थापक आशावादी बनेको छ ।
रिलायन्स स्पिनिङ्ग मिल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २७४.८९ प्रतिशत बढेर १८ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी ४७.३८ प्रतिशत घटेर ४ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो ।
कम्पनीको कुल नाफा २४ प्रतिशत घटेर ६५ करोड ७३ लाख रुपैयाँ, सञ्चालन नाफा २०.४४ प्रतिशत घटेर ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ र सञ्चालन नाफा ५७ करोड २७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५९.६३ प्रतिशत घटेर २ करोड ३३ लाख रुपैयाँ गरेको छ । तर, कम्पनीको प्रशासन खर्च १३ करोड ५५ लाख रुपैयाँ र वित्तीय खर्च २४ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ ।
१ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३.५३ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ बढेर २२.१९ रुपैयाँ पुगेको छ ।
बोटलर्स नेपाल (बालाजु) को पुस मसान्तसम्ममा नोक्सानी रकम बढेर २४ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको पुसमा कम्पनीको नाफा १५ करोड १५ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.७७ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
पुसमा कम्पनीको कुल नाफा २२.२१ प्रतिशत घटेर ९१ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ८३ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
कम्पनीको अन्य सञ्चालन आम्दानी ५.१० प्रतिशत बढेर १ करोड ६४ लाख रुपैयाँ गरेको छ भने वित्तीय आम्दानी ३४.६८ प्रतिशत घटेर ७ लाख ९१ हजार रुपैयाँ गरेको छ ।
१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५.१५ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक छ ।
बोटलर्स नेपाल (तराई) को पुस मसान्तमा खुद नाफा ११ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुसमा कम्पनीको नाफा ७ करोड ४१ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो ।
यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी १९.५१ प्रतिशत घटेर २ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ, वित्तीय आम्दानी २३ प्रतिशत घटेर ४० हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ सञ्चालन आम्दानी र ५२ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २७ प्रतिशत घटेर ६० करोड ३२ लाख रुपैयाँ मात्रै गरेको छ भने अन्य सञ्चालन आम्दानी २५८.२६ प्रतिशत बढेर ३ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ७५ लाख रुपैयाँ कुल नाफा र ९९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो ।
१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६.६९ प्रतिशत बढेर ३ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९७ रुपैयाँ ऋणात्मक छ ।
हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४७.४२ प्रतिशत बढेर ४० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ८९ करोड ८८ लाख रुपैयाँ गरेको थियो ।
कम्पनीको कुल नाफा ६४.६८ प्रतिशत बढेर ९१ करोड १४ लाख रुपैयाँ गरेको छ भने सञ्चालन खर्च १३१.९६ प्रतिशत बढेर ५३ करोड ४५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ५५ करोड ३४ लाख रुपैयाँ र सञ्चालन खर्च २३ करोड ४ लाख रुपैयाँ थियो ।
३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १४.९१ प्रतिशत बढेर ५५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ बढेर २६.३५ रुपैयाँ पुगेको छ ।
सोनापुर मिनरल्स एण्ड आयलको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ५२ लाख रुपैयाँ नोक्सानी छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको नोक्सानी घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २९.७७ प्रतिशत बढेर ८१ करोड ५८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको कुल नाफा ९.०२ घटेर ८ करोड ६५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको पुसमा कम्पनीको कुल नाफा ९ करोड ५१ लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४२.६६ प्रतिशत घटेर ३० लाख रुपैयाँमा झरेको छ
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४३.९८ प्रतिशत बढेर ९४ करोड ७ लाख रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.३६ रुपैयाँ रहेको छ ।
सर्वोत्तम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेर ६५ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
कम्पनीको वित्तीय खर्च ३१.९५ प्रतिशत घटेर १५ करोड ६२ लाख रुपैयाँ र कुल खर्च ०.७६ प्रतिशत घटेर ४१ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपैयाँ वित्तीय खर्च र ४२ करोड ८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । साथै कम्पनीको अन्य आम्दानी २८३.४२ प्रतिशत बढेर ७ करोड १८ लाख रुपैयाँ गरेको छ ।
४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ६८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ९७ करोड ४७ लाख रुपैयाँ छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ८.२८ रुपैयाँ बढेर ९.७० रुपैयाँ पुगेको छ । पुस मसान्तमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ ।
शिवम् सिमेन्ट्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पुसमा कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो ।
चालु आवको ६ महिनामा सञ्चालन आम्पानी ११.८८ प्रतिशत घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ५१ करोड ९९ ला रुपैयाँ गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेर ४० करोड १ लाख ८६ हजार रुपैयाँ, अन्य आम्दानी २७.९७ प्रतिशत घटेर १२ करोड २६ लाख रुपैयाँ र कुल खर्च १२.३७ प्रतिशत घटेर ४४ करोड ६८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले ५० करोड ४२ लाख रुपैयाँ कुल नाफा, १७ करोड २ लाख रुपैयाँ अन्य आम्दानी र ५० करोड ९४ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८.६५ प्रतिशत घटेर ३ अर्ब १५ करोड ३२ लाख रुपैयाँ र सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ ।
युनिलिभर नेपालले चालु आर्थिक वर्षको पुसमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १३.४९ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.४१ प्रतिशत बढेर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशत बढेर १ अर्ब ९८ करोड रुपैयाँ र कुल खर्च १.०८ प्रतिशत घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १०.५७ प्रतिशत बढेर ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ बढेर ५१९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ छ ।
नेपाल ल्यूव आयलको पुस मसान्तसम्ममा खुद नाफा १७९.२३ प्रतिशत बढेर २ करोड १९ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.१८ प्रतिशत बढेर ५४ करोड ९६ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६० प्रतिशत बढेर २६ लाख ९० हजार रुपैयाँ, कुल नाफा ९.५० प्रतिशत बढेर १६ लाख ५४ हजार रुपैयाँ र सञ्चाल नाफा ४६.३५ प्रतिशत बढेर ४ करोड १३ लाख ४४ हजार रुपैयाँ गरेको छ ।
गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ५१ करोड ७६ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी १६ लाख ८१ हजार रुपैयाँ, कुल नाफा १४ करोड ६१ लाख रुपैयाँ र सञ्चाल नाफा २ करोड ८२ लाख रुपैयाँ गरेको थियो ।
चालु आवको पुससम्ममा कम्पनीको चुक्ता पुँजी २०.१४ प्रतिशत बढेर ७ करोड २८ लाख रुपैयाँ, अन्य इक्विटी २६.९३ प्रतिशत घटेर ६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफा १७.२९ प्रतिशत घटेर २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३४ रुपैयाँ बढेर ६०.२९ रुपैयाँ पुगेको छ ।