हवाई व्यवसायमा सफलतापछि कृषिमा जम्दै वीरेन्द्र, ५० करोड लगानी र ४ हजार किसानसँग मिलेर व्यवसाय

<p>काठमाडौं । बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत कृषिमा सक्रिय बनेका छन् । हवाई व्यवसायमा सफल व्यवसायीको पहिचान बनाएका उनी अहिले कृषिमा जमेका हुन् । उनले ५० करोड बढी लगानी गरेर मोरङको बेलबारी- ९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालन गरिरहेका छन् । उनी पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिब चार हजार किसानसँग [&hellip;]</p>

काठमाडौं । बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत कृषिमा सक्रिय बनेका छन् । हवाई व्यवसायमा सफल व्यवसायीको पहिचान बनाएका उनी अहिले कृषिमा जमेका हुन् ।

उनले ५० करोड बढी लगानी गरेर मोरङको बेलबारी- ९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालन गरिरहेका छन् । उनी पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिब चार हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरूलाई सुलभ मूल्यमा धान बिक्री गर्दै आएका छन् ।

आरजु राइस मिलका अध्यक्ष बस्नेतले आरजु राइस मिलले धानको आयात घटाउन सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको बताए । उनले सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना गर्न नसकिने धारणा राखे ।

धानखेतीमा आत्मनिर्भर बन्न र व्यावसायिक धान खेती गर्नको लागि आरजु राइस मिलले किसानसँग सहकार्य गरिरहेको उनको भनाइ छ । अन्य किसानहरूलाई समेत आरजु राइस मिलसँग सहकार्य गर्न उनको आग्रह छ ।

‘आरजु राइस मिलले सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको छ । सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना नै गर्न सकिँदैन । त्यसकारण हामी आफ्नो खुट्टामा उभिनको लागि भनेर विज्ञहरू सामुदायिक उद्यमशीलता भनेर व्यख्या गरिराखेको छ,’ उनले भने ।

अध्यक्ष बस्नेतले किसानलाई निर्वाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन गरिरहेको बताए ।

किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्युनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ ।

मिलले धान उत्पादक किसानलाई धान भित्र्याउनका लागि आवश्यक उपकरण सहयोग गर्ने र बजारको सुनिश्चितता गरिदिएपछि धानखेतीतर्फ किसानको आकर्षण समेत बढ्दै गएको छ । मोरङका किसान दिव्यराज खतिवडाले आरजु राइस मिलसँग जोडिँदा धेरै सुलभता र सहज भएको बताए ।

उनले आफू उक्त मिलसँग यान्त्रिकीकरणका लागि जोडिएको भएपनि अहिले उत्पादित धान समेत मिलले नै किन्ने गरेको जानकारी दिए ।

धान उत्पादनमा सहयोग गर्ने र उत्पादित धानले उचित मूल्य पाएपछि आफूहरुलाई कुनै समस्या नरहेको बताए । आरजु राइस मिलले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्ने भएकोले आफूहरु ढुक्क भएर धान खेती गरिरहेको जानकारी दिए ।

‘आरजु राइस मिलसँग जोडिएको चाहिँ यान्त्रिकरणकै लागि हो । किनकि खेती गरिन्छ, हार्वेस्टिङ छैन । जनशक्तिको अलि कमि भयो । त्यसकारण पनि जोडिएको हो । एउटा समूहगत रुपमा सहकार्य गरेर अहिलेसम्म आइरहेका छौं,’ उनले भने ।

बाहिर बजारमा धान बेचेको पैसा समेत समयमा नआउने भएको कारण आरजु मिलसँग सहकार्य गरेको उनको भनाइ छ । अर्को किसान सोमबहादुर पौडेलले धान खेती गर्दा आवश्यक उपकरणहरु पठाइदिने धान खरिद गर्ने भएको कारण धेरै सहज भएको बताए ।

बजारको समेत चिन्ता नहुँदा व्यावसायीक धान खेती गर्दै आएको उनले सुनाए । मिलले प्रत्येक वर्ष नयाँ प्रजातिको धानको बीउ वितरण गर्दा भने रोग लाग्ने र उत्पादन घट्ने चिन्ता रहेको जानकारी दिए । उनले किसानलाई राम्रो सुलभता दिएकै कारण यहाँका किसानहरु सामूहिक धान खेती गरिरहेको जानकारी दिए ।

‘म आरजु राइस मिलसँग विगत चार वर्षदेखि जोडिएको हुँ । उहाँहरूले मिल स्थापना गर्नुभन्दा अगाडि नै हार्भेस्टर मेसिनहरू ल्याउनुभयो । उहाँहरूसँग हामी जोडिनुको मुख्य उद्देश्य के हो भने बर्खेधान लगाउँदाखेरि आवश्यक उपकरणहरू पठाइदिने र धान खरिद गरिदिने गर्नुहुन्छ,’ उनले भने ।

Share News