
आफ्नी बहिनी शेखा हिन्द बिन्त हमद बिन खलिफा अल-थानीसँग तमीम । फाइल तस्बिर ।
काठमाडौं । कतारका अमीर शेख तमीम बिन हमद अल-थानीले भारत भ्रमण गर्दैछन् । लगभग एक दशकपछि उनको यो पहिलो भारत यात्रा हुनेछ । यस भ्रमणका क्रममा ऊर्जा सहकार्य र पश्चिम एशियाको राजनीतिक विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ ।
यस भ्रमणको उद्देश्य व्यापार, लगानी र प्रविधि क्षेत्रमा भारत-कतार सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ ।
३३५ अर्ब नेट वर्थ
कतारको अल-थानी परिवार विश्वकै धनी परिवारमध्ये एक हो । यस परिवारको नेटवर्थ लगभग ३३५ अर्ब रहेको अनुमान छ । लन्डनको प्रसिद्ध शर्ड बिल्डिङ र हार्राेड्स लक्जरी डिपार्टमेन्ट स्टोर पनि यस परिवारको स्वामित्वमा छ । साथै जर्मनीको अटोमोबाइल कम्पनी फक्सवागन र ब्रिटिश एयरवेजमा समेत उनीहरूको ठूलो लगानी रहेको छ ।
कतारमा सर्वोच्च शासकलाई अमीर भनिन्छ । अहिलेसम्म अल–थानी परिवारका ११ जना सदस्य यो पदमा रहिसकेका छन् । शेख तमीम बिन हमद अल-थानी २०२३ मा कतारका अमीर बनेका थिए ।
लक्जरी जीवनशैली
३ जुन १९८० मा जन्मेका शेख तमीम पूर्व–अमीर हमद बिन खलिफा अल–थानीका चौथो छोरा हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा लन्डनको प्रसिद्ध हैरो स्कूलमा लिए । त्यसपछि इङ्ल्यान्डको रोयल मिलिट्री एकेडेमीबाट १९९८ मा स्नातक गरे । कतार फर्किएपछि उनलाई कतार आर्मीमा सेकन्ड लेफ्टिनेन्ट बनाइयो ।
शेख तमीमकी तीन श्रीमतीबाट १३ सन्तान छन् । उनी दोहा रोयल प्यालेसमा बस्छन्, जसको अनुमानित मूल्य १ अर्ब डलर छ । यस महलमा १०० भन्दा बढी भव्य कोठा छन् । महलमा ५०० कार पार्क गर्न सकिन्छ । साथै महलको केही भाग सुनले कोटिङ गरिएको छ।
शेख तमीम आफ्नो लक्जरी जीवनशैलीका लागि प्रख्यात छन् । उनीसँग करिब ४० मिलियनको १२४ मिटर लामो याच छ । जसमा हेलिप्याड, ३५ र ९० क्रू सदस्यहरूका लागि सुविधा उपलब्ध छ ।
लक्जरी कारहरूको ठूलो सङ्ग्रह
अल–थानी परिवारसँग कतार अमीरी एयरलाइन्सको समेत स्वामित्व छ । १९७७ मा विशेष रूपमा शाही परिवारका लागि स्थापना गरिएको यस एयरलाइन्ससँग ३ वटा बोइङ ७४७ विमानसहित १४ वटा निजी विमानहरू छन् ।
शेख तमीमसँग बुगाटी, फरारी, ल्याम्बोर्घिनी, रोल्स रोयसजस्ता ब्रान्डका कारहरू सामेल छन् ।
कतारलाई विश्वका सबैभन्दा धनी राष्ट्रमध्ये एक मानिन्छ । यहाँको प्रति व्यक्ति वार्षिक आय १ लाख १४ हजार ६४८ डलर रहेको छ, जसअनुसार कतार विश्वमा पाँचौं धनी देशको सूचीमा पर्दछ ।
नेपाल पनि आएका थिए तमिम
गत वैशाखमा कतारका शेख तमिम दुईदिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आएका थिए ।
नेपाल र कतारबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमीरको यो पहिलो नेपाल भ्रमण थियो ।
नेपालले २१ जुलाई २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो । त्यस्तै, कतारले सन् २०११ मा काठमाडौंमा राजदूतावास स्थापना गरेको थियो ।