
काठमाडौं । दुई युरोपेली विद्युतीय (ईभी) यातायात समूहहरूले शुक्रबार युरोपेली संघ (ईयू)लाई २०२५ कार्बनडाइअक्साइड (सीओ टु) कार उत्सर्जन लक्ष्य र त्यससँग सम्बन्धित जरिवाना कम गर्नका लागि युरोपेली अटोमोबाइल निर्माताहरूको दबाब अस्वीकार गर्न आग्रह गरेका छन् ।
ई-मोबिलिटी युरोप र चार्जअप युरोपले इयूका अध्यक्ष उर्सुला भोन डर लायनलाई पत्र लेखेका हुन् ।
मार्च ५ मा प्रस्तावित अटोमोबाइल क्षेत्रको योजनामा संघले उत्सर्जन लक्ष्यलाई विस्तारै कार्यान्वयन गर्ने वा बहुवर्षीय औसतको आधारमा जरिवाना गणना गर्ने प्रस्ताव अस्वीकार गर्नुपर्ने पत्रमा उल्लेख छ ।
साथै कुनै पनि जरिवाना ईभी (ईभी) रूपान्तरणको लागि अनुदानस्वरूप प्रयोग गरिनुपर्ने उल्लेख छ ।
युरोपेली कार निर्माता कम्पनीहरू जो चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन् र अमेरिकी ट्यारिफहरूको सामना गरिरहेका छन्, उनीहरूले संघलाई जरिवानाबाट राहत दिन आग्रह गरेका छन् ।
यदि उनीहरूले २०२५ सीओ टु उत्सर्जन सीमा पूरा गर्न सकेनन् भने १५ अर्ब युरोसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
ई-मोबिलिटी युरोप र चार्जअप युरोपको पत्रले भनेको छ कि २०२५ को सीओ टु सीमाहरूलाई पछाडि धकेल्ने कुनै पनि लचकपनले युरोपलाई ईभीमा चीनभन्दा पछाडि पार्नेछ र चार्जिङ पूर्वाधार, ब्याट्री विकास, र निर्माण योजनाहरूमा लगानी कम गर्नेछ ।
युरोपेली कार निर्माताहरूले भनेका छन् कि उनीहरू चार्जिङ पूर्वाधार अपर्याप्त भएकाले उपभोक्ताहरू ईभी किन्न हिच्किचाइरहेका छन् । तर इलेक्ट्रा कम्पनीका प्रमुख औरेलियन डी मेउक्सले यो गलत तथ्याङ्क भएको बताउँछन् ।
उनका अनुसार ईयू चार्जिङ स्टेसनहरूले हालको भन्दा ५-७ गुणा बढी सवारीसाधन स्वीकार गर्न सक्छन् र यस क्षेत्रमा अर्बौं युरो लगानी भैरहेको छ ।
समूहहरूले पत्रमा उल्लेख गरेका छन् कि २०२५ को सीओ टु लक्ष्य पूरा गर्न सम्भव छ किनकि २५ हजार युरोभन्दा कम मूल्यका ११ नयाँ ईभी मोडेलहरू बजारमा आएका छन् र जनवरी २०२५ मा ईभी बिक्री ४० प्रतिशतले वृद्धि भएको छ ।
डी मेउक्सका अनुसार १५ अर्ब युरो जरिवाना भन्ने आँकलन २०२४ को पहिलो ६ महिनाका बिक्री तथ्याङ्कमा आधारित भएकाले गलत छ । खासमा जरिवाना ४-६ अर्ब युरो हुनसक्छ, जसलाई अन्य कम्पनीहरूसँग क्रेडिट व्यापार गरेर आधा घटाउन सकिन्छ । (एजेन्सीहरूको सहयोगमा)
सान्दर्भिक सामग्री :
ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो
साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो
घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष
निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?
मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै