काठमाडौं । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका-८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ ।
एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट निःशुल्क ल्याउने गरेको छ ।
‘दैनिक १० वटा जति थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ । एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ । सहकारीले प्रतिटोपी मूल्य १ हजार रुपैयाँ, पेन होल्डर ३ सय रुपैयाँमा बिक्री गर्ने गरेको छ,’ उनले भने ।
सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन । सहकारीले बजारको मागअनुसार उत्पादन गर्न भ्याएकोे छैन ।
‘उत्पादित सामग्री र रेशा काठमाडौंबाट धेरै माग भइरहेको छ । काठमाडौंका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेका छन् । हामीले मागअनुसार दिन सकिरहेका छैनौँ,’ उनले भने ।
सहकारीको उद्योगमा १० महिला काम गरिरहेका जसमा पाँच जना केराको रेशाबाट हाते सामग्री नियमित काम गरिरहेका छन् । उनीहरुले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । यसरी निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको छ ।
यहाँ लाग्ने मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदिन माग आउने गरेको सहकारीले जनाएको छ । केराको रेशा उत्पादनपछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने स्थानीय बताउँछन् ।
‘सहकारी अब कपडा बनाउन धागो उत्पादन गर्न खोजिरहेको छ,’ वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, ‘धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिन्छ ।’
टीकापुर –६ का वडाध्यक्ष बलिराम चौधरी आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताउँछन् ।
‘टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, निःशुल्क पाइन्छ । खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ । यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ,’ उनले भने ।
सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योगमार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले बताए ।
‘यो क्षेत्र केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको छ । स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीका अवसर पाउनु राम्रो उपलब्धि हो,’ उनले भने ।