बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताएका छन् ।
‘अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभाव गहिरो भएको छ र चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,’ सीले सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरेका छन् ।
उनले अगाडि भने, ‘दीर्घकालीन वृद्धि र समग्र सकारात्मक मार्गलाई समर्थन गर्ने परिस्थितिमा परिवर्तन आएको छैन ।’
चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता ‘दुई सत्र’ मा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् ।
प्रधानमन्त्री ली कियाङले सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार हुने नेसनल पिपुल्स कङ्ग्रेस (संसद) को उद्घाटनमा सबैको नजर रहनेछ । रासस