
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो तथा अन्तिम कार्यकालमा देशलाई महान बनाउन चाहन्छन् । यसका लागि उनी लगातार एकपछि अर्को ठूला निर्णयहरू गर्दैछन्, जसले धेरै देशहरूलाई चिन्तित बनाएको छ । तर, ट्रम्प देशको बढ्दो ऋण नियन्त्रण गर्न असफल भएका छन् ।
जनवरीमा अमेरिकाको नेट इन्टरेस्ट पेमेन्ट फेडरल सरकारको कुल राजस्वको १८.७ प्रतिशत पुग्यो, जुन १९९० को दशकयता सबैभन्दा उच्च हो । सन् १९९२ मा यो १८.९ प्रतिशतको उच्चतम स्तरमा पुगेको थियो र जनवरीमा यो त्यसभन्दा केवल २० बेसिस पोइन्ट कम रह्यो । अर्थात् यो २३ वर्षको उच्चतम स्तरमा पुग्यो ।
ब्याजको लागत बढेपछि पछिल्ला १८ महिनामा अमेरिकाको नेट इन्टरेस्ट पेमेन्ट दोब्बर भएको छ ।
ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्नमात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ ।
कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन ।
अमेरिकाले दैनिक १. ८ अर्ब डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यसले सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट देखाउँछ ।
ऋण कति पुग्यो ?
अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पार गरेको छ, जुन देशको जीडीपीको करीब १२५ प्रतिशत हो । २००० मा अमेरिकामा ५.७ ट्रिलियन डलर ऋण थियो, जुन अहिले ३४.२ ट्रिलियन डलर पुगेको छ ।
२०१० मा यो १२.३ ट्रिलियन डलर र २०२० मा २३.२ ट्रिलियन डलर थियो । यूएस कांग्रेसको बजट दस्तावेजहरूअनुसार अर्को दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान छ ।
अर्थतन्त्र ध्वस्त हुनसक्ने
अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि यति धेरै ऋण राम्रो कुरा नभएको विज्ञहरू बताउँछन् । अबको केही वर्षमा अमेरिकाको ऋण-जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । अर्थात् देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ ।
यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ ।
देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेका बेला ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ ।
बढ्दो ऋणका कारण रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबीच प्रायः विवाद हुन्छ । तर सत्य यो हो कि दुवै पार्टीको कार्यकालमा देशको ऋण बढेको छ । यसको असर देशको क्रेडिट रेटिङमा पनि देखिन थालेको छ ।
गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको रेटिङ ‘डबल ए प्लस’ (एए +) बाट घटाएर ‘त्रिपल ए’ (एएए) गरेको थियो । मुडीजले पनि अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो । (एजेन्सीहरूको सहयोगमा)