
काठमाडौं । जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो अर्को पुस्ताको सिभिक हाइब्रिड कार मेक्सिकोको सट्टा अमेरिकी राज्य इन्डियानामा उत्पादन गर्ने निर्णय गरेको छ । कम्पनीले सम्भावित ट्यारिफहरूबाट जोगिनका लागि यस्तो निर्णय गरेको तीन स्रोतहरूले जनाएका छन् ।
यसले निर्माताहरू कसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका मेक्सिको र क्यानडाबाट आयात गरिने सामानहरूमा २५ प्रतिशत ट्यारिफको प्रभावबाट जोगिन प्रयास गरिरहेका छन् भन्ने देखाउँछ ।
धेरै कार निर्माता कम्पनीहरूले यी शुल्कहरूबारे चिन्ता व्यक्त गरेका छन्, तर होन्डाले यस्तो कदम चालेको यो पहिलो जापानी कार कम्पनी हो ।
स्रोतहरूका अनुसार जापानको दोस्रो ठूलो कार निर्माता कम्पनी होन्डाले सुरुमा अर्को पुस्ताको सिभिकलाई मेक्सिकोको गुआनाहुआतोमा उत्पादन गर्ने योजना बनाएको थियो । एक स्रोतले भनेअनुसार उत्पादन नोभेम्बर २०२७ देखि सुरु गर्ने योजना बनाइएको थियो ।
मेक्सिको चयन गर्नुको कारण उत्पादन लागत बढ्दै गएकाले इन्डियाना र क्यानडामा कार उत्पादन गर्न कठिन भइरहेको स्रोतहरूमध्ये एकले बताए ।
अब होन्डाले वार्षिक करिब २ लाख १० हजार नयाँ सिभिक मोडेल उत्पादन गर्ने लक्ष्यसहित २०२८ को मे महिनादेखि इन्डियानामा निर्माण गर्ने योजना बनाएको जनाइएको छ । यदि इन्डियानामा उत्पादनको मागभन्दा कम भएमा होन्डाले ट्यारिफ नलाग्ने अन्य राष्ट्रहरूबाट आयात गर्ने पनि सोच बनाएको स्रोतले जनाएको छ ।
होन्डाका प्रवक्ताले सिभिक उत्पादन योजनामा परिवर्तनबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । उनले कम्पनीले माग र व्यापार वातावरणलाई ध्यानमा राख्दै ‘वैश्विक रूपमा उत्तम उत्पादन र बाँडफाँट’ सुनिश्चित गर्ने बताए ।
मेक्सिको लामो समयदेखि जापानी तथा अन्य अन्तर्राष्ट्रिय कार निर्माताहरूको लागि कम लागतको उत्पादन केन्द्र रहँदै आएको छ । होन्डाले मेक्सिकोमा उत्पादित करिब ८० प्रतिशत गाडी संयुक्त राज्य अमेरिका पठाउँछ, जुन चीनपछि विश्वको दोस्रो ठूलो कार बजार हो ।
होन्डाका प्रमुख सञ्चालन अधिकृत शिन्जी अओयामाले नोभेम्बरमा चेतावनी दिएका थिए कि यदि अमेरिकाले स्थायी ट्यारिफ लगाउने हो भने कम्पनीलाई उत्पादन स्थान परिवर्तन गर्न सोंच्नुपर्ने हुन सक्छ ।
यो केसले देखाउँछ कि अमेरिकी ट्यारिफहरू कति अवरोधकारी हुन सक्छन्, विशेष गरी ती उद्योगहरूका लागि जसले छोटो अवधिमा उत्पादन योजना परिवर्तन गर्न सक्दैनन् किनकि तिनीहरूमा ठूला लगानी आवश्यक पर्छ र विभिन्न बजारका लागि छुट्टाछुट्टै उत्पादन लाइनहरू सञ्चालनमा हुन्छन् ।
होन्डाले गत वर्ष अमेरिकाभित्र १४ लाख कार र ट्रकहरू बेचेको थियो, जसमा एक्यूरा मोडेलहरू पनि समावेश छन् । कम्पनीले २ लाख ४० हजारभन्दा बढी सिभिक गाडीहरू बेचेको थियो, जसमा पेट्रोल र पेट्रोल-इलेक्ट्रिक हाइब्रिड मोडेलहरू दुवै छन् ।
सिभिक, सीआर-भी पछि होन्डाको अमेरिका बजारमा दोस्रो सबैभन्दा बढी बिक्री हुने गाडी हो ।
होन्डाका अनुसार अमेरिकाभित्र सिभिक बिक्री गत वर्ष २१ प्रतिशतले बढेको थियो । अमेरिकाभित्र होन्डाले बेच्ने करिब ४० प्रतिशत गाडी मेक्सिको र क्यानडाबाट आयात गरिन्छ ।
यसैगरी होन्डाले अमेरिकाभित्र उत्पादित करिब ६० हजार गाडीहरू मेक्सिको वा क्यानडामा निर्यात गर्छ । यदि ती राष्ट्रहरूले पनि जवाफी ट्यारिफहरू लगाउने हो भने होन्डालाई थप लागत वृद्धिको सामना गर्नुपर्ने हुन सक्छ । (एजेन्सीहरूका अनुसार)
निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै
निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?
मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै
२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने