
काठमाडौं । मर्सिडिज बेन्जले लागत कटौती अभियान अन्तर्गत कर्मचारी संख्या घटाउने र तलब वृद्धिमा कटौती गर्ने भएको छ ।
कम्पनीले मंगलबार यस्तो निर्णय गरेको जानकारी गराएको छ ।
कम्पनीले कति जागिर कटौती गरिने भन्नेबारे खुलाएको छैन तर उत्पादन क्षेत्रमा कार्यरत मजदुरहरू प्रभावित नहुने र कटौती (छुट्टी) नहुने उल्लेख गरेको छ ।
कम्पनी व्यवस्थापनले २०३४ को अन्त्यसम्म रोजगारी सुरक्षाको ग्यारेन्टी विस्तार गर्न सहमति जनाएको छ ।
गत महिना भएको वार्षिक नतिजा सम्मेलनमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) हेराल्ड विल्हेल्मले वित्त, मानव संसाधन र खरिद प्रक्रियासँग सम्बन्धित कामहरू बाहिरी कम्पनीलाई दिने योजना रहेको बताएका थिए ।
यसबाट सेवानिवृत्त हुने कर्मचारीहरूको ठाउँमा नयाँ कर्मचारी नलिएर तथा स्वेच्छिक जागिर छोड्ने सम्झौताका माध्यमबाट कर्मचारी संख्या घटाइने छ ।
मर्सिडिज बेन्जले २०२७ सम्म उत्पादन लागत १० प्रतिशतले घटाउने र २०३० सम्म त्यसलाई दोब्बरले कटौती गर्ने योजना बनाएको छ । यो लक्ष्य २०१९ देखि २०२५ को अवधिमा लागत २० प्रतिशतले घटाउने २०२० मा सुरू भएको योजनाभन्दा बाहिरको हो ।
युरोपको अटोमोबाइल उद्योगले यस वर्ष धेरै चुनौतीहरूको सामना गरिरहेको छ । कार निर्माता कम्पनीहरू र अटो पाट्र्स निर्माण कम्पनीहरूले ठूलो कटौतीको घोषणा गरिरहेका छन् भने जर्मनीका शक्तिशाली श्रमिक संघहरूले जागिर कटौती, कारखाना बन्द र कर्मचारीहरूलाई विदेश स्थानान्तरण गर्ने व्यवस्थापनको दबाबको कडा प्रतिरोध गरिरहेका छन् ।