
काठमाडौं । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमाथि आर्थिक र राजनीतिक दबाब बढाएपछि अमेरिकासँग ‘कुनै पनि प्रकारको युद्ध’ लड्न तयार रहेको बताएको छ ।
‘यदि युद्ध नै अमेरिकी चाहना हो भने चाहे त्यो शुल्क युद्ध होस्, व्यापार युद्ध होस् वा कुनै अन्य प्रकारको युद्ध होस्, हामी अन्तिमसम्म लड्न तयार छौं,’ अमेरिकास्थित चिनियाँ राजदूतावासले बुधबार सामाजिक सञ्जाल एक्स (पूरानो ट्वीटर) मा पोस्ट गर्दै आफ्नो धारणा प्रकट गरेको छ ।
यो टिप्पणी ट्रम्प प्रशासनले मंगलबार चीनबाट आयात हुने सामानमा थप १० प्रतिशत शुल्क लागू गरेपछि आएको हो । पछिल्लो एक महिनामा मात्र अमेरिकी प्रशासनले चीनमाथि कुल २० प्रतिशत भन्सार शुल्क लगाइसकेको छ ।
‘यदि अमेरिकाले चीनका हितलाई क्षति पुर्याउने मनसाय राखेको छ भने हामी अन्तिमसम्म लड्न तयार छौं । हामी अमेरिकालाई हेक्का राख्न र चाँडै नै संवाद तथा सहकार्यको सही मार्गमा फर्कन आग्रह गर्दछौं,’ चीनको विदेश मन्त्रालयका प्रवक्ताले बुधबार बताए ।
अमेरिकी शुल्कको प्रतिशोधमा बेइजिङले मंगलबार घोषणा गर्दै मार्च १० देखि केही अमेरिकी सामानहरूमा १५ प्रतिशतसम्मको अतिरिक्त शुल्क लगाउने र तोकिएका अमेरिकी कम्पनीहरूमा नयाँ निर्यात प्रतिबन्ध लगाउने बताएको छ ।
चिनियाँ राजदूतावासको भनाइबारे अमेरिकी रक्षा सचिव पीटर हेगसेथले बुधबार फक्स न्युजसँगको अन्तर्वार्तामा भने, ‘अमेरिका चीनसँग प्रत्यक्ष द्वन्द्व खोजिरहेको छैन, तर हामी तयार छौं ।’
‘हामी एक खतरनाक संसारमा बस्छौं, जहाँ शक्तिशाली राष्ट्रहरू विभिन्न विचारधारासहित उदय भइरहेका छन्,’ उनले थपे, ‘चीन वा अन्य कुनै देशसँग युद्ध रोक्न चाहने हो भने हामी बलियो हुनुपर्छ ।’
चीनले अमेरिकी कृषिजन्य निर्यातलाई निशाना बनाएर ट्रम्पमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयास गरेको विश्लेषकहरू बताउँछन् ।
कृषिजन्य उत्पादनहरू अमेरिकाबाट चीनमा निर्यात हुने प्रमुख वस्तु हुन्, जसमा सोयाबिन मुख्य निर्यात सामग्री हो । बेइजिङले यसमा थप १० प्रतिशत शुल्क लगाएको छ । पछिल्लो अमेरिका-चीन व्यापार युद्धमा चिनियाँ आयातकर्ताहरूले अमेरिकाबाट सोयाबिन खरिद गर्न छोडेर ब्राजिल र अर्जेन्टिनातर्फ मोडिएका थिए ।
अमेरिकी शुल्कले चीनको निर्यातलाई प्रभावित गर्ने खतरा बढेको छ, जसले कमजोर अर्थतन्त्रमा राम्रो पक्ष देखाएको थियो । चीनले यस वर्ष मौद्रिक र वित्तीय प्रोत्साहन उपायहरू अवलम्बन गर्ने संकेत गरेको छ ।
ट्रम्पले चीनमाथि यी दुई चरणका शुल्कहरू चीनको कथित फेन्टानिल व्यापारमा भूमिकाका कारण लगाएको बताएका छन् । यो लतलाग्दो पदार्थ, जसका अधिकांश कच्चा पदार्थ चीन र मेक्सिकोमा उत्पादन हुन्छ, अमेरिकामा हरेक वर्ष दशौं हजार ओभरडोज मृत्युलाई कारक बनेको छ ।
तर चीनले अमेरिकी यो फेन्टानिल बहानालाई ‘कमजोर बहाना’ भन्दै खण्डन गरेको छ ।
अमेरिकी नयाँ शुल्कहरू फेब्रुअरीमा लागू भएपछि चीनले बदला स्वरूप केही अमेरिकी ऊर्जा निर्यातमा भन्सार शुल्क बढाउने र दुई अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय सूची’मा राख्ने घोषणा गर्यो, जसले ती कम्पनीहरूको चीनमा व्यापार गर्न सक्ने क्षमतालाई असर पार्न सक्छ ।
चीनको १४ औं राष्ट्रिय जन कंग्रेसको तेस्रो अधिवेशनका प्रवक्ता लाउ किन्जियानले मंगलबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै चीन-अमेरिका सम्बन्धमा असहमति रहिरहने निश्चित रहेको तर बेइजिङ कुनै पनि दबाब वा धम्की स्वीकार नगर्ने बताएका थिए ।
यस वर्ष चीनको सबैभन्दा ठूलो राजनीतिक सम्मेलन मंगलबार बेइजिङमा सुरु भएको छ, जसमा सरकारले २०२५ का लागि मुख्य आर्थिक लक्ष्यहरू निर्धारण गरेको छ । सम्मेलन मार्च ११ मा समाप्त हुने तालिका छ ।
यद्यपि वासिङ्टन र बेइजिङबीच केही शुल्कहरू फिर्ता गर्न वार्ताबाट सहमति बन्न सक्ने सम्भावना देखिए पनि चीन-अमेरिका अर्थतन्त्रको दीर्घकालीन र गहिरो विभाजनको जोखिम बढ्दै गएको विश्लेषकहरूले चेतावनी दिए ।
चीनले बुधबार सार्वजनिक ‘सरकारी कार्य प्रतिवेदन’ मा राष्ट्रिय सुरक्षा जोगाउन यस वर्ष ७.२ प्रतिशतले रक्षा बजेट वृद्धि गर्ने घोषणा गरेको छ । (एजेन्सीहरूको सहयोगमा)