काठमाडौं । नेपालमा बेलाबखत ग्यास अभाव हुने विषयले निकै चर्चा पाउँछ । आयात गरेर नेपाली भान्सामा प्रयोग हुने एलपी ग्यास अभावको विषय सडकदेखि सदनसम्म प्राथमिकता पाउँछ ।
भारतबाट मासिक ४५ हजार मेट्रिक टन खाना पकाउने ग्यास आयात हुने गरेको नेपाल आयल निगमले जानकारी दिएको छ । जसमध्ये झण्डै ४० प्रतिशत मात्रै काठमाडौं उपत्यका र आसपासका ठाउँमा खपत हुने गरेको छ ।
नेपालमा मासिक रूपमा करिब ३० लाख सिलिण्डर तथा दैनिक रूपमा १ लाख सिलिण्डर आयात हुने गरेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । उनका अनुसार हाल नेपालमा ५९ वटा ग्यास उद्योगहरू छन् भने २ वटा अटो अर्थात् टेम्पो प्रयोगका लागि भारतबाट ग्यास आयात हुने गरेको छ । यस्तै, ३ अन्य उद्योगहरूले पनि आफ्नो प्रयोजनका लागि ग्यास आयात गर्ने गरेका छन् ।
उद्योगी र सरकारबीच सहमति भएर अहिले ग्यासको मूल्य बढाउने निर्णय पनि भएको छ । गत मंगलबार मन्त्रालयमा भएको छलफलपछि एलपी ग्यासको प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भएको छ । निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमति भएपनि उपभोक्तामाथि भने उक्त भार नथपिने निगमले जनाएको छ ।
प्रवक्ता ठाकुरले भने, ‘ग्यासमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भएपनि त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै बेहोर्छ ।’ अहिले निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको उनको भनाइ छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट असुल भइरहेको उनले जानकारी दिए ।
कुन उद्योगसँग कति सिलिण्डर ?
अहिले मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकोमा सबैभन्दा ठूलो हिस्सा भने कोसी ग्यासको छ । कोसी ग्यासले मासिक साढे दुई हजार मेट्रीक टन ग्यास आयात गर्ने गरेको छ । एक मेट्रीक टन ग्यास बराबर ७० वटा ग्यास हुन आउँस यस आधारमा कोसी ग्यासले मासिक १ लाख ७१ हजार ८८० सिलिण्डरका लागि ग्यास आयात गर्ने गरेको छ ।
यस्तै, भेरी ग्यासले २११०.५४ मेट्रिक टन ग्यास आयात गरेको छ भने नेपाल ग्यासले २२८१ मेट्रिक टन, जानकीले १७१४ मेट्रिक टन, बाबा ग्यासले १५५५, सगरमाथाले १४२१, एभरेष्टले ११९४, नोबेलले ११५४, प्राइमले १११३, साइबाबाले १०९६ र शक्तिले ९६४ मेट्रिक टन ग्यास आयात गरेको छ ।
निगमका अनुसार अमर ग्यास उद्योगले मासिक रुपमा ५९२ मेट्रिक टन, आरती ग्यासले २९६ मेट्रिक टन, भानु ग्यासले ४८० मेट्रिक टन, बुटवल ग्यासले ६४० मेट्रिक टन, चण्डेश्वर ग्यास उद्योगले ७५ मेट्रिक टन, वान नेपाल ग्यास उद्योगले ३९७ मेट्रिक टन, गौरीशंकर ग्यास उद्योगले मासिक रुपमा ५८६ मेट्रिक टन, गीता ग्यास उद्योगले ३५४ मेट्रिक टन ग्यास आयात गरेको देखिन्छ ।
यस्तै, गृहलक्ष्मी ग्यासले ८७८.१३ मेट्रिक टन, हिमालय पेट्रो क्यामिकल ग्यास उद्योग ग्यासले ५८४, जगदम्बा ग्यास उद्योगले मासिक रुपमा ५०५ मेट्रिक टन, कन्काई ग्यास उद्योगले ६१० मेट्रिक टन ग्यास आयात गरेको छ भने लुम्बिनी ग्यास उद्योग ग्यासले मासिक रुपमा ४५८ मेट्रिक टन ग्यास आयात गरेको निगमले जनाएको छ ।