काठमाडौं । चालु आर्थिक वर्षको प्रथम सात महिनाको रु. ८ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले २०७३ माघ मसान्तसम्मको भएका १९९ परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको छ ।
अघिल्लो वर्षको तुलनामा उक्त रकममा २४.३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा प्रतिवद्धता आएका उक्त परियोजनाहरुबाट ५७८५ जनाले रोजगारी प्राप्त गर्ने अपेक्षा रहेको छ ।

समीक्षा अवधिमा वैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२.९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७३/७४ को सात महिनासम्ममा कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिहरुमा सुधार देखिएको छ । उपलब्ध पछिल्ला तथ्याङ्कहरुलाई आधार मान्दा समीक्षा अवधिमा फलफूल तथा तरकारी बालीको उत्पादन वृद्धि हुने देखिएकोले समग्र कृषिजन्य उत्पादनमा थप सकारात्मक प्रभाव पर्ने अनुमान छ ।
उर्जा आपूर्तिमा सुधार आएकोले औद्योगिक उत्पादनमा वृद्धि हुने तथा उद्योगहरुको क्षमता उपयोग समेत बढ्ने अपेक्षा गरिएको छ । पर्बतारोहण तथा पदयात्राको मौसम शुरु हुन लाग्दा पर्यटक आगमन संख्यामा वृद्धि हुँदै गइरहेको छ । समीक्षा अवधिमा होटलहरुको औसत अकुपेन्सी दर ४५ प्रतिशतको हाराहारीमा रहेको अनुमान छ ।