निसानको सञ्चालक समितिको बैठकले बस्दै, के आज नयाँ सीईओको उत्तराधिकारी छानिएला ?

<p>काठमाडौं । निसानको सञ्चालक समितिको बैठक मंगलबार बस्न लागेको छ । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकाटो उचिदाको सम्भावित उत्तराधिकारीबारे छलफल हुन बैठक बस्न लागेको हो । निसानको आर्थिक अवस्था कमजोर हुँदै गएको र होन्डासँगको विलय वार्ता असफल भएको कारण उचिदालाई राजीनामा दिन दबाब परेको छ । उनी आफ्नो पदमा बस्न असम्भवजस्तै देखिएको छ, तर [&hellip;]</p>

माकाटो उचिदा

काठमाडौं । निसानको सञ्चालक समितिको बैठक मंगलबार बस्न लागेको छ । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकाटो उचिदाको सम्भावित उत्तराधिकारीबारे छलफल हुन बैठक बस्न लागेको हो ।

निसानको आर्थिक अवस्था कमजोर हुँदै गएको र होन्डासँगको विलय वार्ता असफल भएको कारण उचिदालाई राजीनामा दिन दबाब परेको छ ।

उनी आफ्नो पदमा बस्न असम्भवजस्तै देखिएको छ, तर उनले तत्काल राजीनामा दिने निश्चित नभएको स्रोतले बताएको छ ।

नयाँ सीईओ बन्ने व्यक्ति छ वर्षभित्र निसानको चौथो सीईओ हुनेछन् । उनले अस्थायी रूपमा कार्यभार सम्हाल्न सक्छन् जबसम्म सञ्चालक समितिले स्थायी उत्तराधिकारी चयन गर्दैन ।

जापानी मिडियाका रिपोर्टहरू अनुसार सम्भावित उत्तराधिकारीहरूमा प्रमुख वित्तीय अधिकृत (सीएफओ) जेरिमी पापिन, प्रमुख योजना अधिकृत (सीपीओ) इवान एस्पिनोसा र प्रमुख प्रदर्शन अधिकृत (सीपीओ) गिलियूम कार्टियर रहेका छन् ।

निसानका एक प्रतिनिधिले सञ्चालक समितिको बैठकपछि पत्रकार सम्मेलन वा प्रेस विज्ञप्ति जारी गर्ने योजनाबारे कुनै जानकारी दिएका छैनन् ।

निसानले लामो समयदेखि बिक्री घट्नुका साथै व्यवस्थापनमा अस्थिरता झेल्दै आएको छ । सन् २०१८ मा पूर्वअध्यक्ष कार्लोस गोसनलाई टोकियोका अभियोजनकर्ताहरूले वित्तीय अनियमिततामा दोषी ठहर गरेपछि निसानको ब्रान्ड छविमा ठूलो धक्का लागेको थियो, जसले गर्दा कम्पनी अझै पूर्ण रूपमा उठ्न सकेको छैन ।

हालको आर्थिक वर्ष (मार्च अन्त्यसम्म) भित्र निसानले आफ्नो नाफा पूर्वानुमान तीन पटकसम्म घटाइसकेको छ ।

जापानको तेस्रो ठूलो कार निर्माता कम्पनीलाई उचिदाले पुनः स्थापनाका लागि विभिन्न योजनाहरू अघि सारेका थिए । उनले नोभेम्बरमा हजारौं रोजगारी कटौती र उत्पादन क्षमतामा कमी ल्याउने घोषणा गरेका थिए । उचिदाले आफ्नो पुनरुत्थान योजनाबारे यस समय आसपास अद्यावधिक जानकारी दिने संकेत गरेका थिए ।

हालको पुनर्गठन योजनाअनुसार निसानले थाइल्यान्डमा रहेको एक कारखाना र दुई अन्य अज्ञात कारखानाहरू बन्द गर्ने योजना बनाएको छ । तर जापानमा रहेका पाँचवटा कारखानाहरू बन्द गर्ने योजना नभएको क्योडो न्यूजले सोमबार जनाएको छ।

परम्परागत अटो ब्रान्डहरू हाल चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनीहरूको चुनौती सामना गरिरहेका छन् । चिनियाँ प्रविधियुक्त कारहरूले बजारमा प्रभाव जमाइरहेका बेला निसानले थप गम्भीर संरचनागत समस्याहरूको सामना गरिरहेको छ।

वर्षौंसम्म कम्पनी मूल्यभन्दा बढी संख्यामा केन्द्रित रहँदा यसको ब्रान्ड इमेज कमजोर बनायो । निसानले पहिले इलेक्ट्रिक सवारी लिफमार्फत अग्रणी भूमिका खेले पनि टेस्लाले जस्तो उछाल वा नाफा कहिल्यै पाउन सकेन ।

यसका साथै निसानले मेक्सिकोबाट अमेरिका निर्यात गरिने गाडीहरूमा सम्भावित उच्च करको जोखिम पनि झेल्नुपरेको छ ।

निसानको प्रमुख साझेदार रेनोले निसानलाई कठिन समयबाट बाहिर निकाल्न सहयोग गर्न तयार रहेको बताएको छ । कम्पनीका अध्यक्ष जीन–डोमिनिक सेनार्डले सोमबार भने, ‘निसानलाई नयाँ साझेदारी गर्न कुनै समस्या छैन भने रेनोले त्यसलाई स्वीकार गर्नेछ ।’

गत महिना उचिदाले कम्पनीमा देखिएको अस्थिरता हटाउनु पहिलो प्राथमिकता रहेको र त्यसपछि आफू बाहिरिने संकेत गरेका थिए ।

यदि शीर्ष व्यवस्थापनमा परिवर्तन भयो भने यो निर्णय होन्डा र निसानबीचको विलय वार्ता टुटेको केही हप्तापछि आउनेछ ।

यदि विलय सफल भएको भए निसान–होन्डाको संयोजन विश्वको चौथो ठूलो अटो निर्माता बन्ने थियो । तर स्रोतहरूका अनुसार निसानले आफ्नो स्थिति गम्भीर रूपमा नबुझेको र होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउने प्रस्ताव अचानक राखेपछि वार्ता भंग भएको थियो ।

त्यस्तै, निसानले ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनसँग साझेदारी गर्ने सम्भावनाबारे पनि अड्कल गरिएको छ । फक्सकनको विद्युतीय सवारी व्यवसाय हाल पूर्व निसान कार्यकारी जुन सेकीले नेतृत्व गरिरहेका छन् ।

सेकीलाई पनि सम्भावित उत्तराधिकारीको रूपमा लिइएको छ ।

यदि निसान होन्डा, फक्सकन र मित्सुबिशी मोटर्ससँग चार-पक्षीय सम्झौतामा जाने हो भने सेकी सम्भावित सीईओ बन्न सक्ने जापानी सञ्चारमाध्यमहरूले बताएका छन् । (एजेन्सीहरूको सहयोगमा)

संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी

Share News