स्वदेशी सामग्रीको प्रयोग गरी उद्यमी बन्दै महिला

<p>काठमाडौं । काठमाडौंकी लक्ष्मी पोखरेललाई आफूले उत्पादन भइरहेका अन्नलाई कसरी बजारमा लैजान सकिन्छ होला भन्ने लाग्थ्यो । नेपालमा उत्पादन भएका खाद्यान्न नेपालीहरूले महँगो भए पनि किन्दै आएका छन् । नेपालमै नेपालीले उत्पादन गरेका खाद्यान्न प्रयोग गर्नुपर्छ भन्ने सोंचले उनी उद्यमी भएकी छन् । लक्ष्मीले आफूजस्तै केही काम गर्न इच्छुक साथीहरू खोजिन् । उनीहरू सबैजना मिलेर [&hellip;]</p>

काठमाडौं । काठमाडौंकी लक्ष्मी पोखरेललाई आफूले उत्पादन भइरहेका अन्नलाई कसरी बजारमा लैजान सकिन्छ होला भन्ने लाग्थ्यो । नेपालमा उत्पादन भएका खाद्यान्न नेपालीहरूले महँगो भए पनि किन्दै आएका छन् । नेपालमै नेपालीले उत्पादन गरेका खाद्यान्न प्रयोग गर्नुपर्छ भन्ने सोंचले उनी उद्यमी भएकी छन् ।

लक्ष्मीले आफूजस्तै केही काम गर्न इच्छुक साथीहरू खोजिन् । उनीहरू सबैजना मिलेर नेपालमै उत्पादन भएको अन्नलाई बजारीकरण गर्ने उद्देश्य राखेर अध्ययन सुरु गरे ।

सबैजनाले आफ्नो-आफ्नो योजनाअनुसार खोज अनुसन्धान गरे । डेढ वर्षको अनुसन्धानपश्चात उनीहरूले नेपालमा उत्पादन भएको कागुनो, कोदो, फापर जौंलगायतका खाद्यान्नलाई समेटेर सामाग्रीहरू उत्पादन गर्ने योजना बनाए । त्यसपछि उद्योगको नाम रह्यो ‘कोदाली भेन्चर्स’ ।

‘नेपालमा पाइने अन्न बजारमा ल्याउनु नयाँ कुरा थिएन,’ लक्ष्मी भन्छिन्, ‘स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने थियो । अर्को कुरा मीठो कसरी बनाउने भन्ने पनि चुनौती थियो । यी अवसर र चुनौतीसँग जुध्दै स्थापना भएको कोदाली भेन्चर्सका सामग्रीहरू अहिले नागरिकहरूले मन पराइरहेका छन् ।’

डेढ वर्ष अध्ययन अनुसन्धान गरी गएको मङ्सिरदेखि बजारमा आएको कोदाली भेन्चर्सले अहिले चारवटा सामग्री– भेगन प्रो, फापर फ्लेग्स, पान केक र वेलनेस ड्रिंक पाउडरमात्र बजारमा ल्याएको छ ।

कोदो, फापर, सनफ्लावर सीड मिक्स गरेर बनाएको वेलनेस ड्रिंक पाउडर, कागुनोबाट बनाएको पान केक जसमा आलस, जौं फापर पनि राखिएको छ । यसैगरी फापरको टुसा उमारेर फापर फ्लेग्स तयार पारिएको छ । यसैगरी, भेगन प्रो तील र मुग दालको टुसा उमारेर बनाएको छ । यसको फ्याक्ट्री काठमाडौंको गोठाटार हाइटमा छ । यी सामग्रीको अनलाइन डेलिभरी पनि भइरहेको छ भने विभिन्न बजारमा पनि उपलब्ध छन् ।

६ जना साथीहरू मिलेर खुलेको सम्सरा क्रिएसन

ललितपुरको ढोलाहिटी चाँदनी महत मास्टर्स पढ्दै थिइन् । अध्ययनकै सिलसिलामा उद्यमशीलता विषयमा एउटा बिजनेस डेभलप गर्नुपर्ने भयो । चाँदनीसहित अरू साथीहरू मिलेर कस्तो बिजनेस प्रोजेक्ट तयार पार्ने होला भन्नेबारे छलफल भयो ।

६ जना साथीहरू मिलेर नेपाली सामग्रीहरूको प्रयोग गरी नयाँ काम कसरी गर्न सकिन्छ भन्ने विषय अनुसन्धान सुरु गरे । उनीहरूले बनाएको प्रोजेक्टमा ढाका, लोक्ता, बाँसबाट विभिन्न सामग्री बनाउने एउटा प्रोजेक्ट तयार गरे । प्रोजेक्ट राम्रो थियो । शिक्षक, अन्य विद्यार्थीहरूलाई पनि उनीहरूको आइडिया मन पर्यो । सबैलाई मन परेपछि साथीहरूले अब यो आइडिया बजारमा किन नल्याउने भन्ने विषयमा छलफल गरे ।

कलेजको क्यान्टिनमा बसेर साथीहरूले गरेको छलफलले सुरु भएको व्यवसाय हो सम्सरा । ६ जना साथीहरूले सुरुमा प्रतिव्यक्ति पाँच–पाँच हजार जम्मा गरे । विस्तारै बढाउँदै ६ जनाबाट ५०, ५० हजार गरी चार लाखको लगानीमा गरेको व्यवसाय नेपाली बजारमा स्थापित हुन सफल भएको छ । सम्सराले अहिले बाम्बो, टेक्सटायल र पेपर काम गरिरहेको छ ।

सम्सारले झोला, ढाका, डायरी, ढाका फोल्डरलगायतका थरिथरि सामग्री उत्पादन गर्दै आइरहेको छ । नेपाली कागजको लागि लोक्ता सिन्धुलीबाट आउँछ । चाँदनी काम गर्ने इच्छा, उपाय भयो भने नेपालमै व्यवसाय गर्दा पनि बजार राम्रो रहेको बताउँछिन् । चाँदनीलाई प्लस टु पास गर्ने वित्तिकै परिवारबाट विशेषगरी आमाले विदेश जान कर गरिरहन्थिन् ।

तर उनलाई विदेश जाने रहर थिएन । बरु उनलाई बुवाको व्यवसायलाई नयाँ रूप दिने योजना थियो । उनको बुवाको मिनी मार्केट छ । तर चाँदनीले अहिले आफ्नै व्यवसाय सम्हालिरहेकी छिन् । २०२० सालदेखि सञ्चालनमा ल्याएको समसाराले छोटो समयमा राम्रो काम गर्न सफल भएको छ ।

फुर्सदले बनेकी व्यवसायी

ललितपुरकी आरती नेपाल पढेलेखेकी थिइन् । बिहे गरेर आइसकेपछि छोराछोरी जन्मिए । उनको दैनिकी छोराछोरी हेर्दै बित्यो । बिस्तारै छोराछोरी पनि हुर्कदै गए । श्रीमान आफ्नै काममा जान्थे, छोराछोरी स्कुल जान्थे । उनलाई दिनभर एक्दै घर बस्दा बस्दा बोर लाग्थ्यो । उनलाई अब यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने लाग्यो । उनीजस्तै उनकै टोलमा बस्ने अरु दुईजनासँग उनको भेट भयो । उनीहरू थिए ऋचा भण्डारी सरोजनी शेरचन ।

उनीहरू तीनै जनाको मनमा थियो– अब घरमै बसेर हुँदैन, कुनै व्यवसाय गर्नुपर्छ । उनीहरूले योजना बनाए । त्यो बेला नेपाली कागजको माग विदेशमा तीव्र रूपमा थियो । उनीहरूले नेपाली कागज उद्योग स्थापना गर्ने योजना बनाए । यसका लागि प्रतिव्यक्ति पाँच–पाँच लाख पैसा उठाए । त्यसपछि सुरु भयो नेपाल पेपर क्राफ्ट । जहाँ नेपाली कागज उत्पादन सुरु भयो । यो व्यसाय यति राम्रो चल्यो कि ३० जना कामदार राख्दा पनि भ्याइनभ्याइ भयो ।

एकजना मेसिन चलाउने र अर्को सघाउने तीनजना पुरुष बाहेक अरू सबै कामदार महिलामात्र थिए । एकताका राम्रो चलेको यो व्यवसाय एउटै उत्पादनमा केन्द्रित हुँदा बिस्तारै सेलाउँदै गयो । ३० जना कामदारलाई समेत तलब दिन नसकिने अवस्था आउँदा अब अन्य उत्पादनलाई पनि जोडेर लैजानुपर्ने योजना उनीहरूले बनाए ।

उनीहरूले जुम्ला, हुम्लाका महिलाहरूले उत्पादन गर्दै आएका कागुनो, चिनो, फापरलगायतका अन्न काठमाडौं ल्याउन थाले । व्यवसायको शैली फेरिएसँगै उद्योगको नाम पनि फेरियो । नयाँ नाम रह्यो माई इन्टरप्राजेज प्राइभेट लिमिटेड । यो कम्पनी सञ्चालनमा आएको अहिले १५ वर्ष भयो । २०६८ सालदेखि उद्योग व्यवसायमा लागेकी आरती भन्छिन्, ‘काम गर्ने इच्छाशक्ति हुँदा जे काम पनि गर्न सकिँदो रहेछ । आज म नेपाली महिलाहरूलाई उद्यम गर्नुपर्छ भन्दै विभिन्न ठाउँमा कार्यक्रम लिएर पुग्ने गरेकी छु ।’

उद्यममा सफल हुँदै महिला

आजभोलि महिलाको सहभागीता र प्रतिनिधित्व हरेक क्षेत्रमा बढ्दै गएको छ । कुनै पनि क्षेत्रमा सहभागितामात्र जनाउने नभइ नेतृत्व लिने तहमा महिला पुगेका छन् । उनीहरूले स्थापना गरेका उद्योगमा सयौं पुरुषहरूले रोजगारी पाइरहेका छन् ।

सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले महिलाले नेतृत्व गरेका हरेक उद्योगले उदाहरणीय काम गरिरहेका बताइन् । कुनै समय कामको लागि पनि योग्य हुने नठानिएका महिलाहरू आज आफै उद्यमी बन्नु निकै खुसीको कुरा रहेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘महिलाहरू सक्षम हुँदै गएका छन्, आफ्नै लगानी क्षमतामा उद्यमी बन्नु र सयौंलाई रोजगार दिनु सानोतिनो कुरा होइन ।’
उनी यस्ता महिलाहरूलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछिन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योग क्षेत्रमा महिला सहभागीता बढ्दै गएको तर समस्या अझै धेरै रहेको बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुष दुवै सँगसँगै अगाडि बढेमात्र देश विकास सम्भव हुने बताउँछन् । पछिल्लो समय नेपाली महिलाको नेतृत्व हरेक तहमा पुग्दै गएको भन्दै ओलीले सिँगो समाज अगाडि बढाई देशलाई सम्बृद्ध बनाउन सँगसँगै हाहातेमालो गरे अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Share News