
काठमाडौं । मोहनसिंह ओबेरायलाई भारतमा होटल उद्योगको पायोनियर मानिन्छ । उनले स्थापना गरेको ओबेराय होटल्स एन्ड रिसोर्ट्स आज भारतको दोस्रो ठूलो होटल ब्रान्ड हो ।
ओबेराय समूहका भारत, इन्डोनेसिया, इजिप्ट, यूएई, मौरिसस र साउदी अरेबियामा ३१ वटा होटल छन् । ओबेराय र ट्राइडेन्टजस्ता होटलहरू स्थापना गरी मोहनसिंहले भारतीय आतिथ्य उद्योगलाई विश्वमा चिनाए ।
आज ओबेराय समूहका दुई सूचीबद्ध कम्पनीहरू- ईआईएस लिमिटेड र ईआईएच एसोसिएटेड होटल्स लिमिटेड छन्, जसको कुल बजार मूल्य करिब ४० हजार करोड रुपैयाँ छ ।
साधारण क्लर्कबाट भारतीय आतिथ्य उद्योगको स्तम्भ बन्नेसम्मको उनको यात्रा भने अत्यन्तै रोचक छ । आउनूहोस् उनकाे यात्राबारे संक्षिप्त रूपमा चर्चा गराैं ।
सुरुवाती जीवन र संघर्ष
मोहनसिंह ओबेरायले आफ्नो प्रारम्भिक शिक्षा रावलपिन्डीमा गरे । स्नातकको लागि लाहोर गए र त्यसपछि राम्रो अवसरको खोजीमा शिमला पुगे । शिमला पुग्दा उनीसँग पैसा थिएन । उनलाई सेसिल होटलमा फ्रन्ट डेस्क क्लर्कको रूपमा काम मिल्यो, जहाँ उनलाई मासिक ५० रुपैयाँ तलब मिल्थ्यो । उनी सधैं नयाँ कुरा सिक्न उत्सुक रहन्थे । आफ्नो काममा मात्र सीमित नभई अतिरिक्त जिम्मेवारीहरू लिँदै जान थाले । उनको मेहनत, ऊर्जा र तीक्ष्ण दिमागले होटलका अंग्रेज म्यानेजरलाई निकै प्रभावित पार्थ्यो ।
होटल उद्योगमा प्रवेश
केही वर्षपछि जब होटलका म्यानेजरले सानो होटल किने उनले ओबेरायलाई सँगै काम गर्न बोलाए । १९३४ मा ओबेरायले क्लार्क होटल किनेर होटल व्यवसायमा पाइला टेके । उनले यो होटल किन्नका लागि आफ्नी पत्नीका गहना र आफ्नो सम्पत्ति धितो राखेका थिए ।
त्यसको चार वर्षपछि उनले कलकत्तामा ग्राण्ड होटल लिजमा लिए जसमा ५०० कोठा थिए । उनको अठोट र आत्मविश्वासले उनले यो होटललाई सफल र नाफामा परिणत गरे ।
ओबेराय समूहको विस्तार
विस्तारै मोहनसिंहले एसोसिएटेड होटल्स अफ इण्डिया (एएचआई) का सेयरहरू किन्दै गए । यससँगै शिमला, दिल्ली, लाहोर, मुर्री, रावलपिन्डी, र पेशावरमा थुप्रै होटलहरू थिए ।
१९४३ मा उनले एएचआईमा आफ्नो नियन्त्रण कायम गरे र देशकै सबैभन्दा ठूलो होटल चेन सञ्चालन गर्ने पहिलो भारतीय बने । १९६५ मा उनले नयाँ दिल्लीमा द ओबेराय इन्टरकन्टिनेन्टल खोले । १९७३ मा उनले मुम्बईमा ३५ तले ओबेराय शेरेटन निर्माण गरे ।
अन्तर्राष्ट्रिय पहिचान
मोहनसिंहले अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित गर्नका लागि ग्लोबल होटल ब्रान्डहरू सँग साझेदारी गरे । उनले समूहको दोस्रो होटल ब्रान्ड ट्राइडेन्ट पनि सुरु गरे । आज भारतका मुम्बई, चेन्नई, गुरुग्राम (दिल्ली एनसीआर), हैदराबाद, भुवनेश्वर, कोचिन, आगरा, जयपुर, उदयपुर लगायतका सहरमा १० ट्राइडेन्ट होटल छन् ।
भारत बाहिर साउदी अरेबियाको जेद्दामा पनि एउटा अन्तर्राष्ट्रिय ट्राइडेन्ट होटल छ । ओबेराय समूहले आज विश्वभर करिब १२ हजार मानिसलाई रोजगारी दिएको छ ।
मोहनसिंहको सन् २००२ मा १०३ वर्षको उमेरमा उनको निधन भएको थियो ।