उद्योगमा लोडसेडिङ हुन थालेपछि रिसाए उद्योगी, कुलमानलाई कटाक्ष गरेर सरकारको माग्यो साथ

<p>काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । परिसंघले विज्ञप्ति जारी गर्दै उद्योगहरूमा लोडसेडिङ गरिएकोमा आपत्ति जनाएको हो । विज्ञप्तिमा केही समय अगाडि पनि लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गर्दा उद्योगमा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको र अहिले पुनः लोडसेडिङ गराउँदा उद्योगलाई [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

परिसंघले विज्ञप्ति जारी गर्दै उद्योगहरूमा लोडसेडिङ गरिएकोमा आपत्ति जनाएको हो ।

विज्ञप्तिमा केही समय अगाडि पनि लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गर्दा उद्योगमा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको र अहिले पुनः लोडसेडिङ गराउँदा उद्योगलाई प्रताडित पार्ने काम प्राधिकरणले गरेको उल्लेख छ ।

यस्ता खालका गतिविधिले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघले जनाएको छ ।

सरकारले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।

विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरुमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन भन्दै परिसंघले प्रश्नसमेत गरेको छ ।

उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघले सरकार एवं सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।

Share News