
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा दुनियाँलाई ट्यारिफको डर देखाइरहेका छन्, तर आफ्नै देशको अवस्था भने बिग्रिँदै गएको छ ।
विदेशी लगानीकर्ताहरूले गत हप्तामात्रै अमेरिकी सेयर बजारमा ६ अर्ब डलर बराबरको सेयर बेचिदिएका छन्, जुन इतिहासमा तेस्रो सबैभन्दा ठूलो साप्ताहिक बिक्री हो ।
यसअघि मार्च २०२० र मार्च २०२३ मा विदेशी लगानीकर्ताहरूले यस्तै गरी अमेरिकी बजारमा ठूलो परिमाणमा सेयर बिक्री गरेका थिए । रोचक कुरा के छ भने विदेशी लगानीकर्ताहरूले पछिल्लो चार हप्तामा युरोपमा ४ अर्ब डलरको लगानी गरेका छन्, जुन पछिल्लो १० वर्षमा सबैभन्दा उच्च हो ।
यद्यपि, अमेरिकी इक्विटीमा अझै पनि विदेशी लगानीकर्ताहरूको हिस्सा १६ ट्रिलियन डलर रहेको छ । यो अमेरिकी सेयर बजारको कुल मूल्यको लगभग २३ प्रतिशत हो।
तर पछिल्ला दिनहरूमा विदेशी लगानीकर्ताहरूको धारणा निकै छिटो परिवर्तन भइरहेको देखिन्छ । अमेरिकी सेयर बजार पछिल्लो समय निकै ओरालो लागेको छ ।
जनवरी ३१ देखि एसएन्डपी ५०० इन्डेक्समा ६.५ प्रतिशत र अमेरिकी डलर इन्डेक्समा ३.५ प्रतिशत गिरावट आएको छ । यसअघि २००८ मा मात्र अमेरिकी सेयर र डलर दुवैमा एकैपटक यति ठूलो गिरावट देखिएको थियो । डिसेम्बर २००७ देखि मार्च २००८ सम्म एसएन्डपी ५०० इन्डेक्समा १०.२ प्रतिशत र अमेरिकी डलर इन्डेक्समा ५.४ प्रतिशत गिरावट आएको थियो ।
विदेशी बजारहरूको अवस्था
पछिल्लो २१ दिनमा विश्वका ९० प्रतिशत स्टक इन्डेक्सहरूले अमेरिकाभन्दा राम्रो प्रदर्शन गरेका छन्, जुन २०२२ पछि सबैभन्दा उच्च प्रतिशत हो । पछिल्ला तीन हप्तामा यो अन्तर दोब्बर भएको छ किनकि सो अवधिमा एसएन्डपी ५०० इन्डेक्समा ६.५ प्रतिशत गिरावट आएको छ ।
उता जर्मन डीएएक्स इन्डेक्समा २.१ प्रतिशत वृद्धि देखिएको छ जबकि जापानको निक्केई १.४ प्रतिशतले घटेको छ । क्यानडाको स्टक मार्केट टीएसएक्स कम्पोजिट ०.७ प्रतिशतले घटेको छ भने बेलायतको एफटीएसई १९९ इन्डेक्समा खासै परिवर्तन देखिएको छैन । (एजेन्सीहरूको सहयोगमा)