काठमाडौं । नेपाल उद्योग परिसंघ र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपालको सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई सूचना प्रविधि (आईटी) तथा आईटी–सम्बद्ध सेवा ९क्ष्त्भ्क्० आउटसोर्सिङका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
रोडशो अन्तर्गत ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक सम्मेलन २०२५’ मा नेपाल पवेलियन प्रस्तुत गरिएको थियो। यस पवेलियनमार्फत नेपाली प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ तथा निर्णयकर्तासमक्ष चिनाउन सफल प्रयास गरिएको थियो ।
नेपाल पवेलियनमा सक्षम, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, मोनाल टेक लगायतका प्रमुख प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि, सेवा तथा आउटसोर्सिङ क्षमताहरू अन्तर्राष्ट्रिय बजारसामु प्रस्तुत गरे। यी कम्पनीहरूले विश्वव्यापी प्रतिष्ठित प्रविधि ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गराएका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै परिसंघ आईटी काउन्सिलका सभापति तथा एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाह नेतृत्वमा नेपाली टोलीले सम्मेलनमा भाग लिएको थियो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल का अनुसार “टेक पीक नेपालः ओर्लान्डो २०२५” ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा नेपालको विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको छ।
एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजारभन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो। यसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता तथा रणनीतिक साझेदारहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्यो ।