काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार असन्तुलन भएका केही देशमात्र नभई सबै देशमा नयाँ कर नीति लागू गरिने बताएका छन् ।
ट्रम्प प्रशासनले व्यापार असन्तुलनलाई सुधार गर्न अप्रिल २ देखि पारस्परिक कर नीति लागू गर्ने तयारी गरिरहेको छ । उनले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै, यो नीति सबै देशमा लागु हुने स्पष्ट पारे ।
‘मैले १० वा १५ वटा देशको मात्र कुरा भइरहेको भन्ने हल्ला सुनेको छु। तर त्यस्तो होइन। कर नीति सबै देशमा लागू हुनेछ,’ ट्रम्पले भने ।
ट्रम्पले स्टिल र एल्युमिनियमको आयातमा कर वृद्धि गरिसकेका छन् भने, चीनबाट आयात हुने सामानमा समेत अतिरिक्त कर लगाइसकेका छन् । अप्रिल ३ देखि विदेशी कारहरूको आयातमा पनि अतिरिक्त कर लाग्नेछ ।
उनका व्यापार सल्लाहकार पिटर नाभारोका अनुसार, यस कर नीतिबाट वार्षिक १०० अर्ब डलर उठ्ने अपेक्षा गरिएको छ । उनले १० वर्षमा करिब ६ ट्रिलियन डलर संकलन हुने दाबी गरे ।
विश्लेषकहरूका अनुसार ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीति बढाउने र विश्वव्यापी मन्दी निम्त्याउने खतरा रहेको छ । ट्रम्प प्रशासनको नयाँ कर नीतिले अन्तर्राष्ट्रिय व्यापार युद्धको सम्भावना बढाएको अर्थशास्त्रीहरू बताउँछन् ।
यद्यपि, ट्रम्पले सरकारी राजस्व वृद्धि गर्ने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा यस नीति लागू गर्न लागिएको दाबी गरेका छन् ।