टेस्लामाथि हमला जारी, रोमको डिलरशिपमा आगलागी हुँदा १७ कार नष्ट

काठमाडौं । अर्बपति एलन मस्कले इटालीको रोमस्थित टेस्ला डिलरशिपमा भएको आगलागीलाई ‘आतंकवादी हमला’को संज्ञा दिएका छन् ।

उक्त आगलागीमा १७ वटा कार नष्ट भएका थिए । इटालीको विशेष प्रहरी इकाई डिजोसले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

सुरक्षा स्रोतका अनुसार अनुसन्धानकर्ताहरूले इटालीको राजधानी रोमको पूर्वी क्षेत्रस्थित उक्त कारहरूमा अराजकतावादीहरूले आगो लगाएको हुनसक्ने आशंका गरेका छन्।

मस्कको दक्षिणपन्थी गतिविधिहरूले गर्दा विभिन्न देशहरूमा टेस्ला कारहरूमा तोडफोड तथा आगजनी हुँदै आएको जनाइएको छ ।

प्रविधि व्यवसायी तथा सोशल मिडिया प्लेटफर्म एक्स (पूरानो ट्वीटर) का मालिक मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग आबद्ध भएका छन् र उनले युरोपका दक्षिणपन्थी दलहरूको समर्थन गरेका छन् ।

मस्कले एक्समा रोम आगलागीसम्बन्धी एक पोस्टमा टिप्पणी गर्दै ‘आतंकवाद’ शब्द प्रयोग गरे ।

ड्रोनबाट खिचिएको तस्बिरहरूमा आगलागीपछि जलेका कारहरू पार्किङ क्षेत्रमा लाइनमा देखिन्छन्, जसमा दुई पङ्क्तिमा कारहरू एकअर्कासँग जोडिएर राखिएको र तेस्रो पङ्क्ति केही टाढा देखिन्छ ।

इटालीको अग्नि नियन्त्रक विभागका अनुसार आगलागी सोमबार बिहान करिब ४ः३० बजे भएको थियो । डिलरशिपको केही भाग क्षतिग्रस्त भए पनि कसैलाई कुनै चोटपटक लागेको थिएन ।

Fire at a Tesla dealership that destroyed vehicles

इटालीका उपप्रधानमन्त्री तथा दक्षिणपन्थी लिग पार्टीका नेता मातेओ साल्भिनीले पनि एक्समा मस्कलाई समर्थन जनाउँदै लेखेका छन्, ‘टेस्ला कार कम्पनी विरुद्ध धेरै अनावश्यक घृणा फैलिएको छ । घृणा र द्वन्द्वको यो समय छिट्टै अन्त्य हुनुपर्छ । मेरो ऐक्यबद्धता एलन मस्क र सबै श्रमिकहरूसँग छ, जो धम्की र आक्रमणको सिकार भएका छन् ।’

स्वीडेनका दुई टेस्ला स्टोरहरूमा हमला

स्वीडेनको राजधानी स्टकहोम र तटीय सहर माल्मोमा दुई टेस्ला स्टोरहरू र केही कारहरू तोडफोड गरिएको विभिन्न स्वीडिश सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् ।

स्वीडेनको सार्वजनिक प्रसारक एसभीटीका अनुसार माल्मोमा रहेको एक टेस्ला स्टोरमा सुन्तला रङको पेन्ट छ्यापिएको थियो । प्रहरीले चार व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरूको गतिविधिको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ ।

Share News