
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको जनाएको छ । मन्त्रालयका अनुसार फलामे छडको मूल्य किलोमा २ रुपैयाँले घटाउने तयारी भइरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरूले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएको मन्त्रालयले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार अहिले निर्माण सामग्रीको मूल्य देशभर नै घटिरहेको विभागका महानिर्देशक कुमार दाहालले बताए ।
उनले भने, ‘हामीले सिमेन्ट उद्योगीहरूलाई सिमेन्टको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकेर मात्रै बजारमा ल्याउन भनेका थियौं । जसमा उद्योगीले पेश गरेका वास्तविक लागतको विवरण अध्ययन गरेपछि मात्रै एमआरपी तोक्न सजिलो हुन्छ । सबै वस्तुहरुमा एमआरपी अनिवार्य गर्दा अहिलेको भन्दा सहुलियत अवश्य हुन्छ, हामी त्यसका लागि छलफलमा छौं ।’
मूल्यवृद्धि किन गरियो भनेर आफूहरू अहिले सूक्ष्म ढंगले अध्ययन गरिरहेका महानिर्देशक दाहालको भनाइ छ । उनले वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय विभाग भएको दाबी गरे ।
उनले भने, ‘उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ । त्यसैले हामीले सबैलाई मिलाएर लैजानुपर्छ ।’
देशभरिका सबै उद्योगलाई भोलि (बुधबार) भित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा एमआरपी राख्न यसअघि नै निर्देशन दिइसकेको समेत बताए । यसैगरी, सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको उनको भनाइ छ ।
हाल देशभरि जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका विभागले जनाएको छ ।
यता सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य घटाएको बताए । उनले लोडसेडिङ बढेको कारण यसअघि थोरै मूल्य बढाएको जानकारी दिए ।
उनले भने,‘ प्राधिकरणले उद्योगहरूमा विद्युत लाइन काटेको कारणले मूल्य केही बढाइएको थियो । विद्युत लाइन काटिएपछि १२ घण्टा लोडसेडिङ भयो अनि हामीले ठूलो नोक्सानी खेप्नुपर्यो । २- ३ दिन भयो, लोडसेडिङको समस्या केही कम भएको छ । यसअघि १२ घण्टा लोडसेडिङ हुने गरेकोमा अहिले ६-७ घण्टामा झरेको छ । त्यसैले हाम्रो लागत घट्यो र भाउ घटायौं,’ अध्यक्ष मारुले भने ।
अध्यक्ष मारुले सिमेन्टको प्रतिबोरामा अब १५ देखि २५ रुपैयाँसम्म घटाएको जानकारी दिए । यसैगरी, अधिकतम मूल्य राख्ने विषयमा भने उपभोक्ता झनै मारमा पर्ने सक्ने उनको धारण छ ।
उनले भने, ‘बोरामै मूल्य राख्दा देशभरकै एकै मूल्य हुन्छ। दुर्गम ठाउँमा ढुवानी गर्न सजिलो छैन । ती ठाउँको लागि बढी रकमको एमआरपी लेख्नुपर्छ। यसरी मूल्य राख्दा ढुवानी खर्च कम लाग्ने ठाउँका उपभोक्तालाई समस्या हुन्छ । यस विषयमा सरकारसँग छलफल थप छलफल गर्छौं । अनि निर्णय लिन्छौं ।’
यता नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सिमेन्टको एमआरपी तोक्ने भनेको तर सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउनुको सट्टा झन् बढाइरहेको आरोप लगाए ।
उद्योगीहरुले फेरि सिमेन्टको मूल्य २० देखि २५ रुपैयाँ बढाएको उनको दाबी छ ।
अध्यक्ष सिंहले भने, ‘सिमेन्ट र डण्डीको प्रायोजक सरकार हो । उद्योगी र सरकार मिलेर बजारमा कालोबजारी गरिरहेका छन् । हामीलाई सिमेन्ट महँगोमा बेचिरहेका छन् भने भारतलाई सस्तोमा दिइरहेका छन् । सरकार र सिमेन्ट उद्योगीहरू भित्री रूपमा सुरुदेखि नै मिलेर बजारमा नमिलेको झै गरिरहेका छन ।’
उनले यदि सरकार र सिमेन्ट उद्योगीहरू नमिलेको भए अहिलेसम्म किन यसलाई नियन्त्रण गर्न नसकेको भन्दै प्रश्न गरे ।
यस्तै, १०९ रुपैयाँ मूल्य रहेको फलामे जालीको मूल्य बढाएर १२५ पुगाएको उनको भनाइ छ ।