काठमाडौं । युरोपका चार ठूला इलेक्ट्रिक सवारी चार्जिङ कम्पनीहरूले बुधबार युरोप महादेशको सबैभन्दा ठूलो सार्वजनिक चार्जिङ नेटवर्क बनाउन एकजुट भएको घोषणा गरेका छन् ।
इटालीको एटलान्टे, जर्मनीको आओनिटी, नेदरल्यान्ड्सको फास्टनेड र फ्रान्सको इलेक्ट्रा मिलेर नयाँ साझेदारी गरी स्पार्क नामक नेटवर्क बिस्तार गर्ने लक्ष्य लिएका छन् ।
यस नेटवर्कमा ११ हजार चार्जिङ पोइन्टहरू र १ हजार ७०० चार्जिङ स्टेसनहरू रहनेछन्, जुन २५ वटा युरोपेली देशहरूमा फैलिनेछ ।
साझेदारीका अनुसार यो मुख्य प्रतिस्पर्धी टेस्लाको भन्दा धेरै स्टेसनहरू हुनेछन् । तर, बेलायती मोटर पत्रकार तथा ईभी वकालत समूह फेयरचेन्जका संस्थापक क्वान्टिन विलसनका अनुसार अमेरिकी कम्पनी टेस्ला उपभोक्तासँगको सरल र प्रभावकारी इन्टरफेसका कारण अझै अगाडि छ ।
जुन महिनादेखि युरोपका ग्राहकहरूले स्पार्क साझेदारका सदस्य एपहरू प्रयोग गरेर ४०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङमा आफ्नो पहुँच पाउन सक्नेछन् ।
युरोपेली अटोमोबाइल लबी एसीईएले उपभोक्ताहरूको चार्जिङ पहुँचको चिन्तालाई सम्बोधन गर्न र ईभीको माग बढाउन चार्जिङ पूर्वाधारको तीव्र विस्तारको लागि दबाब दिइरहेको छ ।
यो घोषणा ईभीको कमजोर माग र यूरोपेली आयोगद्वारा उत्सर्जन नियमहरू खुकुलो पार्ने निर्णयको बीचमा आएको हो ।
युरोपेली आयोगका अनुसार सन् २०३० सम्म ३.५ मिलियन चार्जिङ पोइन्टहरू स्थापना गर्न आवश्यक छ, जुन हालको वार्षिक स्थापनाको दरको लगभग तीन गुणा बढी हो ।
तर, इलेक्ट्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार इयू लक्ष्यहरू व्यावहारीक छैनन्, किनकि गुणस्तर नै प्राथमिकता हुनुपर्छ ।
'टेस्लासँग प्रतिस्पर्धा गर्नु साझेदारीको मुख्य उद्देश्य होइन, तर नयाँ नेटवर्कले बजार प्रतिस्पर्धा बढाउन सक्छ,’ उनले भने ।
'गुणस्तरमा केन्द्रित अर्को ठूलो नेटवर्क हुनु टेस्लाका लागि पनि महत्त्वपूर्ण कुरा हो । यसले ईभी चालकहरूलाई ठूलो स्तरमा पूर्वाधार प्रदान गर्नेछ । यो वास्तवमा परिपूरक हो,’ फास्टनेडका सीईओले भने ।
टेस्लालाई पनि भविष्यमा गठबन्धनमा समावेश गर्ने सम्भावना रहेको इलेक्ट्राका सीईओले संकेत गरे ।
'उनीहरू यसमा सामेल हुन योग्य हुन सक्छन्, किनकि उनीहरू द्रुत र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्छन् । तर, यो भोलिको प्रश्न हो,’ उनले भने ।