साउदी अरबले भारत र पाकिस्तानसहित १३ देशमाथि लगायो भीसा प्रतिबन्ध

काठमाडौं । साउदी अरबले १३ देशका नागरिकहरूका लागि अस्थायी रूपमा भीसा प्रतिबन्ध लगाएको छ । 

यो प्रतिबन्ध व्यापारिक (बिजनेस), पारिवारिक (फ्यामिली) र उमराह भीसामा समेत लागू हुनेछ । बिना दर्ता (रजिस्ट्रेशन) हजमा सहभागी हुने व्यक्तिहरूलाई रोक्नका लागि साउदी सरकारले यो अस्थायी कदम चालेको हो । 

यो प्रतिबन्ध जुन महिनाको मध्यसम्म अर्थात् यस वर्षको हज सम्पन्न नहुन्जेलसम्म लागु हुनेछ । साउदी अधिकारीहरूका अनुसार विदेशी नागरिकहरूले १३ अप्रिलसम्म मात्रै उमराह भीजाका लागि आवेदन दिन सक्नेछन् । त्यसपछि उमराह भीसा जारी गरिने छैन ।

बिना अनुमति हज गर्दा हजारौंको ज्यान गयो

गत वर्ष हजको क्रममा हजारौं हज यात्रुहरूको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजसो बिना अनुमति, अवैध रूपमा हजमा गएका थिए । त्यसैले यो प्रतिबन्धको उद्देश्य यस्ता अनधिकृत हज यात्रुहरूलाई रोक्नु हो । साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हज व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित राख्न वीजा प्रक्रियामा कडाई गर्ने निर्णय गरेका हुन् ।

यी १३ देशहरूमा प्रतिबन्ध

साउदी अरबले जस देशमाथि अस्थायी भीजा प्रतिबन्ध लगाएको छ, ती देशहरू हुन्ः भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट (मिस्र), इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन ।

हजलाई व्यवस्थित बनाउन लिइयो यस्तो निर्णय

साउदी विदेश मन्त्रालयले जनाएको छ कि यो अस्थायी प्रतिबन्ध यात्रालाई सरल बनाउन मद्दत गर्नेछ । यसबाट हजको समयमा सुरक्षामा सुधार आउनेछ । अधिकारीहरूले सबैलाई नयाँ नियमहरूको पालना गर्न अनुरोध गरेका छन् ताकि यात्रुहरूलाई कुनै असहज नहोस् । यदि कसैले यो प्रतिबन्धको उल्लंघन गरेर गैरकानुनी रूपमा साउदी अरबमा बस्यो भने उसलाई ५ वर्षसम्म साउदी अरब प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।

डिजिटल गाइड पनि जारी

साउदी अरबले हज र उमराहका लागि पहिले नै १६ भाषामा एक डिजिटल गाइड पनि सार्वजनिक गरिसकेको छ । साउदी सञ्चारमाध्यमहरूका अनुसार यो गाइड विभिन्न फम्र्याटहरूमा उपलब्ध छ । अधिकारीहरूले भनेका छन् कि उनीहरू हजको समयमा यात्रुहरूको सुरक्षा प्रति गम्भीर छन् र यात्रुहरूले सुरक्षित र आरामदायी रूपमा हज पूरा गर्न सकून् भन्ने सुनिश्चित गर्न चाहन्छन् ।

हजको संख्यामा नियन्त्रण

साउदी सरकारले प्रत्येक देशका लागि वार्षिक हज कोटामा सीमित संख्यामा अनुमति प्रदान गर्छ । तर, धेरैजसो विदेशी नागरिकहरूले बिना दर्ता हजमा सहभागी हुने गर्छन् । यो समस्या सन् २०२४ मा विशेष रूपमा गम्भीर बन्यो जब अत्यधिक गर्मी र भीडका कारण एक हजारभन्दा बढी हज यात्रुहरूको मृत्यु भएको थियो । यस घटनाले अनधिकृत हज यात्रुहरूको व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याएको साउदी अधिकारीहरूको भनाइ छ ।

Share News