काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारका ६० भन्दा बढी देशहरू विरुद्ध ट्यारिफ (कर) बढाएका छन् । यसले विश्वभरिका सेयर बजारमा ठूलो गिरावट आएको छ र लगानीकर्ताहरूका खरबौं डलर डुबेका छन् । यसको सबैभन्दा ठूलो असर भने अमेरिकामै परेको छ ।
अमेरिकी टेक कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । अहिले संसारमा कुनै पनि कम्पनीको मूल्यांकन ३ ट्रिलियन डलर छैन । केही समय अघिसम्म धेरै कम्पनीहरू यो सूचीमा थिए, तर अहिले ती सबै आफ्नो उच्च बिन्दुबाट निकै तल झरिसकेका छन् ।
१९ फेब्रुअरीदेखि अहिलेसम्म अमेरिकी सेयर बजारको कूल मूल्य १३ ट्रिलियन डलरले घटिसकेको छ । केवल ’म्याग्निफिसेन्ट ७’ भनिने प्रमुख ७ कम्पनीहरूले मात्र ५ ट्रिलियन डलरभन्दा बढी गुमाएका छन् ।
अमेरिकाको एसएन्डपी ५०० फ्युचर्स सूचकांक २२ प्रतिशतले घटिसकेको छ र बियर मार्केट (सामान्यतया बजारको पछिल्लो उच्च बिन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा वा दुई महिनासम्म लगातार सूचीकृत कम्पनीको मूल्यमा गिरावट आएमा नेप्से परिसूचक लगातार घटेमा यस्तो अवस्थालाई बियर मार्केट भनिन्छ।) को क्षेत्रमा प्रवेश गरिसकेको छ ।
अमेरिकी बजारमा पछिल्ला ३२ दिनको अवधिमा प्रतिदिन औसत ४०० अर्ब डलर गुमाएको छ । ठीक ३२ दिनअघि एसएन्डपी ५०० ले ६ हजार १४७ अंकको नयाँ ऐतिहासिक उचाइ चुमेको थियो ।
आईफोन बनाउने कम्पनी एप्पलको सेयर मूल्यमा गत शुक्रबार ७.२९ प्रतिशत गिरावट आयो र यसको बजार मूल्यांकन २.८२९ ट्रिलियन डलरमा झ¥यो । यस्तै, माइक्रोसफ्ट अहिले २.६७५ ट्रिलियन डलरसहित विश्वको दोस्रो ठूलो कम्पनी बनेको छ ।
एआई चिप बनाउने कम्पनी एनभिडियाको मूल्यांकन घटेर २.३०१ ट्रिलियन डलरमा झरेको छ । यी सबै कम्पनीहरू पहिले ३ ट्रिलियन डलर क्लबको हिस्सा थिए ।
यस सूचीमा अमेजन अहिले १.८१२ ट्रिलियन डलरसहित चौथो स्थानमा छ । गुगलको मातृ कम्पनी अल्फाबेटको मूल्यांकन १.७८६ ट्रिलियन डलर छ । यसैगरी, साउदी अरामकोको १.७०१ ट्रिलियन डलर, मेटा प्लेटफम्र्सको १.२७८ ट्रिलियन डलर, बर्कशायर हैथवेको १.०६५ ट्रिलियन डलर र टेस्लाको ७७०.१३ अर्ब डलर रहेको छ।