ट्रम्पको ट्यारिफ लागू भएसँगै सेयरमा थप गिरावट सुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका दर्जनौं मुलुकहरूमाथि लगाएका 'पारस्परिक' ट्यारिफहरू बुधबारदेखि लागू भएका छन्, जसमा चिनियाँ सामानहरूमा १०४ प्रतिशतको भारी महसुलसमेत समावेश छ । यसले विश्वव्यापी व्यापार युद्धलाई थप चर्काएको छ, यद्यपि उनी केही देशहरूसँग वार्ताको तयारीमा छन् ।

ट्रम्पका कडा ट्यारिफहरूले दशकौंदेखि कायम रहेको विश्वव्यापी व्यापार प्रणालीलाई हल्लाइदिएका छन्, आर्थिक मन्दीको डर बढाएका छन् र विश्वभरिका सेयर बजारहरू मारमा परेका छन् ।

एसएन्डपी ५०० सूचकांकले ट्यारिफ घोषणा गरिएको एक सातामै करिब ६ ट्रिलियन डलर गुमाएको छ, जुन सन् १९५० को दशकमा सूचकांक सुरु भएयताकै सबैभन्दा ठूलो चारदिने गिरावट हो । 

बुधबार अधिकांश एशियाली सेयर बजारहरूमा पुनः गिरावट आयो । जापानको निक्केई सूचकांक ३ प्रतिशतले घट्यो, दक्षिण कोरियाली मुद्रा १६ वर्षयताकै न्यूनतम बिन्दुमा पुग्यो र लगानीकर्ताहरू नगदको सुरक्षातर्फ भागेपछि सरकारी बन्डहरूमा ठूलो घाटा देखियो ।

युरोप र अमेरिकाका स्टक फ्युचर्सले अझै पीडा बाँकी रहेको संकेत दिएका छन् । तर चिनियाँ बजारमा भने राज्यको सहयोगका कारण केही स्थिरता देखिएको छ ।

ट्रम्पले ट्यारिफहरू दीर्घकालीन हुने वा अस्थायी भन्नेबारे लगानीकर्तालाई मिश्रित संकेत दिएका छन् । उनले यी ट्यारिफहरूलाई 'स्थायी' भनेका छन्, तर त्यसले अन्य देशहरूलाई वार्ताका लागि आग्रह गर्न बाध्य बनाएको दाबी पनि गरेका छन् ।

'धेरै देशहरू सम्झौता गर्न चाहेर आइरहेका छन्,' उनले मंगलबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा भने । पछि अर्को कार्यक्रममा उनले चीनसँग पनि सम्झौता हुने अपेक्षा व्यक्त गरे ।

ट्रम्प प्रशासनले दक्षिण कोरिया र जापानसँग वार्ताको तालिका बनाएको छ, जो अमेरिका नजिकका सहयोगी र प्रमुख व्यापार साझेदार हुन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी पनि अर्को सातामा अमेरिकाको भ्रमणमा आउँदैछिन् ।

कम लागतको उत्पादन केन्द्रका रूपमा चिनिएको भियतनामका उपप्रधानमन्त्री पनि बुधबार ट्रम्पका ट्रेजरी सचिव स्कट बेसेन्टसँग वार्ता गर्ने कार्यक्रम रहेको छ ।

अरू देशहरूसँग हुने सम्भावित सम्झौताहरूले मंगलबार प्रारम्भिक समयमा बजारमा सुधार देखाए तापनि दिनको अन्त्यसम्म अमेरिकी बजार पुनः घटे ।

चीनको जवाफ 'हामी लड्छौं'

ट्रम्पले गत हप्ता चिनियाँ वस्तुहरूमा ५४ प्रतिशत ट्यारिफ लगाएका थिए, जुन अहिले झण्डै दोब्बर गरी १०४ प्रतिशत पुर्याइएको छ । यो कदम चीनले घोषणा गरेको जवाफी ट्यारिफहरूलाई प्रतिक्रिया स्वरूप उठाइएको हो । चीनले यसलाई धम्कीको रूपमा व्याख्या गर्दै अन्त्यसम्म लड्ने चेतावनी दिएको छ ।

चिनियाँ स्टेट होल्डिङ कम्पनीहरूको साथ दिँदै देशका ठूला ब्रोकर फर्महरूले घरेलु सेयर बजारलाई स्थिर पार्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

न्यूजील्यान्ड र भारतका केन्द्रीय बैंकहरूले बुधबार ब्याजदर कटौती गरेका छन्, जुन सम्भवतः विश्वका नीति निर्माताहरूले व्यापार युद्धको असर कम गर्नका लागि लिने ठूलो कदमको संकेत हुन सक्छ ।

केही देशहरूले आफ्नो निर्यातमुखी क्षेत्रहरूलाई सघाउन सार्वजनिक खर्च बढाइरहेका छन् । दक्षिण कोरियाले आफ्नो गाडी उद्योगलाई कर छुट र अनुदानको रुपमा आपतकालीन सहायता घोषणा गरेको छ ।

कतिपय अर्थशास्त्रीहरूले अन्ततः अमेरिकी उपभोक्ताहरूले नै व्यापार युद्धको मूल्य चुकाउने भन्दै चेतावनी दिएका छन्, जसका कारण जुत्ता देखि वाइनसम्म सबै वस्तुको मूल्य बढ्न सक्नेछ ।

एक सर्वेक्षणअनुसार झण्डै तीन चौथाइ अमेरिकीहरूले आगामी ६ महिनामा दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्ने अपेक्षा गरेका छन् ।

तर बुधबार लागू भएका ट्यारिफहरूको पूर्ण असर तुरुन्तै देखिने छैन किनभने मध्यरातअघि ट्रान्जिटमा रहेको सामानहरूमा नयाँ महसुल लागू नहुने र तिनीहरू मे २७ भित्र अमेरिका पुग्ने हो भने छुट दिइनेछ ।

ट्रम्पको शुल्कविरुद्ध 'अन्त्यसम्म लड्ने' चीनको घोषणा

अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका

 

Share News