काठमाडौं । अमेरिकी सेयर बजारमा बुधबार उच्च वृद्धि देखिएको छ । यसले प्रविधि कम्पनीहरूको सेयर रहने नासडक सूचकांकलाई १२.१६ प्रतिशतले बढायो । यो वृद्धिले अमेरिकी धनीहरूको सम्पत्तिमा पनि वृद्धि ल्याएको छ ।
शीर्ष १० धनीको नेट वर्थमा करिब १४० अर्ब डलरको वृद्धि भएको छ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा २२.६९ प्रतिशतले उछाल आएको छ । यसबाट कम्पनीका सीईओ र संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा ३५.९ अर्ब डलरको वृद्धि भएको छ ।
ब्लूमबर्ग बिलियनेयर इन्डेक्स अनुसार मस्कको नेट वर्थ अहिले ३२६ अर्ब डलर पुगेको छ । यद्यपि यस वर्ष उनको सम्पत्तिमा १०७ अर्बको गिरावट आएको थियो ।
अमेजनको सेयर मूल्य ११.९८ प्रतिशतले बढेपछि कम्पनीका सह–संस्थापक जेफ बेजोसको नेटवर्थमा १८.५ अर्बको वृद्धि भएको छ। अब उनको नेटवर्थ २१० अर्ब पुगेको छ ।
संसारका धनीहरुको सूचीमा तेस्रो स्थानमा रहेका फेसबुकका मार्क जकरबर्गको नेटवर्थमा २५.८ अर्बको वृद्धि भएको छ । यस वृद्धिपछि उनको नेटवर्थ २०७ अर्ब पुगेको छ । वारेन बफेटको नेटवर्थमा ८.१२ अर्ब, ल्यारी एलिसनको १५.५ अर्ब, बिल गेट्सको ४.८१ अर्ब, ल्यारी पेजको ११.० अर्ब, स्टिभ बालमरको ११.२ अर्ब र सर्गेई ब्रिनको १०.२ अर्बको वृद्धि भएको छ ।
एआई चिप निर्माण गर्ने कम्पनी एनभिडियाको सेयर मूल्यमा १८.७२ प्रतिशतको वृद्धि भएपछि सीईओ जेन्सन हुआङको नेटवर्थमा १५.५ अर्बको वृद्धि भएको छ । माइकल डेलको नेटवर्थमा १० अर्ब र जिम, रब र एलिस वाल्टनको नेटवर्थमा ७ अर्बको वृद्धि भएको छ ।
यसैबीच, भारतीय सेयर बजारमा गिरावटका कारण मुकेश अम्बानी र गौतम अडानीको सम्पत्तिमा गिरावट आएको छ । अम्बानी ८४.१ अर्बको नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा १७औं स्थानमा छन् भने अडानी ६९.९ अर्ब नेटवर्थसहित २१औं स्थानमा छन् ।
यस वर्ष विश्वका शीर्ष २० धनीमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ । सबैभन्दा बढी कमाइ गर्ने वारेन बफेट हुन्, जसले २० अर्ब कमाएका छन् ।
अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै