काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंकहरुबाट पैसा खिच्नेभन्दा पनि लगानी बढाउने विकल्प खोज्नुपर्ने बताएका छन् । बिहीबार महासंघको ५९औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय लगानीको अवस्था निकै कमजोर रहेको बताउँदै राष्ट्र बैंकले थप लगानीको वातावरण सिर्जना गर्नतर्फ सोच्चुपर्ने धारणा राखे ।
‘अहिलेको परिस्थितिमा लगानी गर्न निजी क्षेत्र आर्कर्षित हुन सकिरहेको छैन, कुनै पनि क्षेत्रमा लगानी नै भएको छैन् भन्दा पनि हुन्छ, सरकारको तर्फबाट प्रयासहरु भने भइरहेका छन् तर ती प्रयास प्रयाप्त छैन,’ उनले भने ।
सरकारले नियमावली र कार्यविधिहरु संशोधन गर्ने काम भइरहेको बताए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको धारणा राखे । उनले बैंकहरुले पनि रिकभरीलाई प्राथमिकता दिइरहेको बताउँदै लगानीका लागि विकल्प नखोजेको बताए ।
पछिल्लो २ महिनादेखि व्यापारमा केही सुधार हुनु राम्रो संकेत भएपनि तत्काल व्यापारमा ठूलो परिवर्तन आउने सम्भावना भने नभएको उनको भनाइ छ । ‘सरकारले अध्यादेशमार्फत ५ वटा ऐनहरु संशोधन गर्यो, सरकारले ल्याउने नीतिहरुले लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन मिल्छ,’ उनले भने ।
यस्तै, सडक सञ्जालको अवस्था दयनीय रहेको सुनाउँदै सरकारले सडक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनले विगतमा उद्योगहरुमा विद्युत आपुर्तिको समस्या भएपनि पछिल्लो समय केही सुधार भएको सुनाए ।
उनले निर्माण व्यवसायलाई दिनुपनुपर्ने बक्योता रकम तत्काल भुक्तानी गर्न पनि आग्रह गरे ।