मिस्टरबिस्ट जसले यूट्यूबबाटै कमाउँछन् वार्षिक ११ अर्बभन्दा बढी

काठमाडौं । यूट्यूबबाट कमाइको बारेमा तपाईंले धेरै उदाहरण सुन्नु भएको होला । जस्तै फलानाले धेरै पैसा कमायो, अहिले महँगा गाडी चढ्ने गरेको छ, ठूलो घर बनाएको छ । तर एउटा यूट्यूबर यस्तो पनि छ, जसले यो प्लेटफर्मबाट धेरै कमाइ गरेर ठूला व्यापारीहरूलाई पनि पछि पारेको छ । 

हामी कुरा गर्दैछौं मिस्टरबिस्टको जसको लोकप्रियता यूट्यूबको कारणले सारा संसारमा फैलिएको छ । रिपोर्टअनुसार उनले यति धेरै पैसा कमाइसकेका छन् कि ठूला–ठूला हलिउड स्टार्सको भन्दा पनि बढी सम्पत्ति हुन सक्छ । यो सबै उनले अनलाइन काम गरेर हासिल गरेका हुन् । यूट्यूबमा उनका सब्सक्राइबर्सको संख्या पनि अकल्पनीय छ ।

यूट्यूबमा मिस्टर बीस्टका सब्सक्राइबर्सको संख्या ३८४ मिलियन (अर्थात् करिब साढे ३८ करोड) पुगेको छ । अरू युट्युबरहरू झैं उनी हरेक दिन भिडियो अपलोड गर्दैनन् । कहिलेकाहीं महिनामा ३ वटा त कहिलेकाहीँ १ मात्र भिडियो अपलोड गर्छन् । तर उनका भिडियोहरूमा धेरै भ्यूज आउँछन् । 

एउटा भिडियोमा औसत १०० मिलियनभन्दा बढी भ्यूज हुन्छ । फ्यानहरू उनीहरूको भिडियोको प्रतीक्षा गरिरहेका हुन्छन् । २ हप्ता अघि उनले अपलोड गरेको नयाँ भिडियोले ८८ मिलियन भ्यूज पाइसकेको छ ।

उनी कस्ता खालका भिडियो बनाउँछन् ?

मिस्टरबिस्टलाई अन्तर्राष्ट्रिय अनलाइन इन्फ्लुन्सरको रूपमा चिनिन्छ । उनका भिडियोहरूमा ट्रेन्डिङ र भाइरल टपिक्स समेटिएको हुन्छ । उनका धेरै भिडियोहरू साहसिक किसिमका हुन्छन् । चाहे गुफामा बस्ने होस् वा इजिप्टको पिरामिडमा समय बिताउने, मिस्टरबिस्ट सधैं केही अनौठो, भिन्न विषयवस्तुका भिडियो लिएर आउँछन् र दर्शकलाई आकर्षित गर्छन् । 

यही कारणले उनका भिडियोहरू लामो समयसम्म यूट्यूबमा चर्चित रहन्छन् । मानिसहरूले ती भिडियोहरू हेर्छन्, जसबाट मिस्टरबिस्टलाई ठूलो आम्दानी हुन्छ ।

एक वर्षमा कति कमाउँछन् ?

मिस्टरबिस्टको कमाइका बारेमा फोब्र्स र सेलिब्रेटी नेटवर्थ जस्ता रिपोर्टहरूले देखाउँछन् कि उनले अनलाइन कामबाट ठूलो सम्पत्ति जोडेका छन् । उनी यूट्यूबबाट कमाइ गर्नुका साथै विभिन्न ब्रान्डहरूसँग काम गर्छन्, जसबाट उनलाई आम्दानी हुन्छ। 

रिपोर्टअनुसार जुन २०२३ देखि जुन २०२४ सम्म उनले करिब ८५ मिलियन डलर (११ अर्ब ३० करोड ५० लाख नेपाली रुपैयाँ ) कमाएका छन् । उनको नेटवर्थ ५५० मिलियन (७३ अर्ब ७५ करोड रुपैयाँ) भन्दा बढी भएको बताइन्छ । भनिन्छ कि यूट्यूबबाहेक उनले अन्य विभिन्न व्यवसायहरू पनि सञ्चालन गरिरहेका छन् ।

टिकटक किन्न चासो

मिस्टरबिस्टको नाम पछिल्लो समय तब फेरि चर्चामा आयो, जब केही रिपोर्टहरूमा भनियो कि उनले अमेरिकाभित्र टिकटकको बिजनेस किन्नमा रुचि देखाएका छन् । उल्लेखनीय कुरा के हो भने टिकटकलाई अमेरिकामा आफ्नो बिजनेस बेच्नुपर्ने अवस्था आएको थियो । तर अन्तिम निर्णय नभएकाले टिकटकलाई ७५ दिनको म्याद थप गरिएको छ । 

यदि मिस्टरबिस्टले टिकटकको अमेरिकी कारोबारमा हिस्सा पाए भने त्यो उनको लागि ठूलो सफलता हुन सक्छ। 

Share News