काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् ।
गत वर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए ।
मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनु पर्ने धारणा राखे ।
युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवश्यक भएको उनको भनाइ छ । त्यसैका लागि महासङ्घको अगुवाइमा गत वर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनले बताए ।
अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा छ । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए ।
बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेन्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताए । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पुँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे ।