काठमाडौं । अष्ट्रेलियामा बेरोजगारी दर बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार, मार्च महिनामा देशको बेरोजगारी दर ४.१ प्रतिशत पुगेको छ, जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।
एबीएसले बेरोजगारी दरमा देखिएको वृद्धिलाई मौसमी उतारचढावसँग जोडेको छ । यसअघि लगातार पाँच महिना बेरोजगारी दर ४.० प्रतिशतमै स्थिर रहेको थियो ।
यद्यपि, पछिल्लो १२ महिनामा अष्ट्रेलियामा रोजगारीमा रहेका व्यक्तिको संख्या ३ लाख ८ हजारले बढेको देखिएको छ, जुन वृद्धि दर ९२.२ प्रतिशत हो । यो दर महामारीपूर्वको २० वर्षको औसत वृद्धिदर (२ प्रतिशत) भन्दा धेरै हो ।
फेब्रुअरीदेखि मार्चको बीचमा मात्रै ३२ हजार २०० नयाँ रोजगारी सिर्जना भएको भए पनि बेरोजगार व्यक्तिहरूको संख्या पनि ३ हजारले बढेको एबीएसको प्रतिवेदनमा उल्लेख छ ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार, मार्चमा रोजगार–जनसंख्या अनुपात ६४.१ प्रतिशत रहेको छ । उनले रोजगारीमा वृद्धिका बाबजुद काम गर्ने घण्टामा ०.३ प्रतिशतको गिरावट आएको उल्लेख गर्दै त्यसको कारण चक्रवातजस्ता मौसमी घटनाहरू भएको बताए ।
रोजगारी सिर्जनामा केही सुधार देखिए पनि बेरोजगारी दरमा आएको वृद्धिले अष्ट्रेलियाको श्रम बजारमा अस्थिरता देखाएको छ । साथै, काम गर्ने घण्टामा कमी आउनु पनि सम्भावित आर्थिक मन्दीको संकेतको रूपमा लिइएको छ ।