भारतमा एक वर्षमै ४३ लाखभन्दा बढी गाडी बिक्री, ६५ प्रतिशत ग्राहकको रोजाइ एसयूभी

काठमाडौं । भारतमा एक वर्षमै यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशतले बढेर ४३ लाख युनिटभन्दा बढी पुगेको छ । एसयूभी, एमपीभी प्रतिको माग बढेकै कारणले यो बिक्री रेकर्ड बनेको हो । कुल बिक्रीमध्ये एसयूभीको हिस्सा ६५ प्रतिशत रहेको छ । 

व्यक्तिगत साधनको निर्यात पनि १५ प्रतिशतले बढेर ७.७ लाख युनिट पुगेको छ । उता दुईपाँग्रे सवारीसाधनको बिक्रीमा पनि ९ प्रतिशत वृद्धिको दर देखिएको छ भने व्यावसायिक सवारीको बिक्रीमा सामान्य गिरावट आएको छ ।

भारतीय अटो उद्योग संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)का अध्यक्ष शैलेश चन्द्राका अनुसार यो राम्रो प्रदर्शनको कारण भनेको बजारमा राम्रो माग, पूर्वाधारमा लगानी र सरकारको नीति नै हुन् ।

एसआईएएमका अनुसार विगत एक वर्ष- अर्थात् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्म-  यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशत वृद्धि भई ४३ लाख १ हजार ८४८ युनिट पुगेको छ । अघिल्लो वित्तीय वर्ष २०२३-२४ मा यो संख्या ४२ लाख १८ हजार ७५० युनिट थियो ।

यस वृद्धिमा सबैभन्दा ठूलो योगदान एसयूभी/एमपीभीहरूको रहेको छ ।

एसयूभीको लोकप्रियता झन् बढ्दो

जनताको रोजाइमा एसयूभी झनै बढिरहेको देखिन्छ । वित्तीय वर्ष २०२४–२५ मा कुल यात्रुवाहक बिक्रीमा ६५ प्रतिशत हिस्सा एसयूभीको रह्यो । अघिल्लो वर्ष (२०२३-२४) यो हिस्सा लगभग ६० प्रतिशत थियो ।

एसयूभीको बिक्री ११ प्रतिशतले वृद्धि भई २७ लाख ९७ हजार २२९ युनिट पुगेको छ, जुन अघिल्लो वर्ष २५ लाख २० हजार ६९१ युनिट थियो ।

साधारण कारहरूको बिक्री भने १३ प्रतिशतले घटेर १३ लाख ५३ हजार २८७ युनिट मात्र रह्यो, जुन अघिल्लो वर्ष १५ लाख ४८ हजार ९४७ युनिट थियो ।

निर्यातमा पनि वृद्धि

यात्रुवाहकको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । वित्तीय वर्ष २०२४–२५ मा ७.७ लाख युनिट निर्यात गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो।

अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत वृद्धि देखिएको छ ।

एसआईएएम अनुसार भारतमा बनेका गाडीहरूप्रति अन्तर्राष्ट्रिय माग बढेकाले निर्यातमा वृद्धि भएको हो ।

दुईपाँग्रे सवारी (बाइक-स्कुटर) को बिक्री पनि बढ्यो

दुईपाँग्रे सवारी थोक बिक्री ९ प्रतिशतले वृद्धि भई १ करोड ९६ लाख ७ हजार ३३२ युनिट पुगेको छ ।

अघिल्लो वर्ष यो १ करोड ७९ लाख ७४ हजार ३६५ युनिट थियो ।
 

Share News