जापानमा बच्चाको भन्दा धेरै बिक्छ वृद्धको डाइपर

काठमाडौं । जापान संसारको चौथो ठूलो अर्थतन्त्र हो । यो एशियाको पहिलो देश हो जसले 'विकसित देश' को सूचीमा स्थान पाएको थियो । कुनै समय चीनसमेत जापानको अधीनस्थ (गुलाम) रहेको थियो । तर पछिल्ला केही वर्षदेखि जापानमा वृद्ध जनसंख्या तीव्र गतिमा बढिरहेको छ ।

गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ३ करोड ६२ लाख ५० हजार पुगेको छ, जुन देशको कुल जनसंख्याको करिब २९.३ प्रतिशत हो । तीमध्ये २ करोड ५ लाख ३० हजार महिला र १ करोड ५७ लाख २० हजार पुरुष छन् ।

जापानमा वृद्ध जनसंख्या कति तीव्र गतिमा बढिरहेको छ भन्ने कुरा यसैबाट थाहा हुन्छ कि त्यहाँ अहिले बच्चाको भन्दा वृद्धको डाइपर बढी बिक्री हुन्छ ।

सरकारी तथ्यांकअनुसार हाल जापानमा ९१ लाख ४० हजार वृद्धहरू काम गरिरहेका छन् । यसको अर्थ जापानमा हरेक सातजना कामदारमध्ये एक जना वृद्ध छन् ।

जनसंख्या घट्दो

जापानमा वृद्धको संख्या बढ्दो छ तर कुल जनसंख्या भने घट्दो छ । लगातार १३ वर्षदेखि जापानको जनसंख्या घटिरहेको छ ।

सन् २०२३ मा जापानको जनसंख्या ५ लाख ९५ हजारले घटेको थियो । सन् २००८ मा जापानको जनसंख्या १२ करोड ८० लाख थियो भने २०२४ मा घटेर १२ करोड ३७ लाख मात्र भएको छ ।

कामकाजी उमेरको जनसंख्या घट्दा जापानको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । वृद्धहरूको हेरचाह र सामाजिक सुरक्षामा खर्च बढ्दै गएको छ ।

सन् २०४० सम्म वृद्धहरूको संख्या बढेर ३४.८ प्रतिशत पुग्ने र त्यसबेला जापानमा १ करोड १० लाखभन्दा बढी कामदारको अभाव हुने अनुमान गरिएको छ ।

विदेशी कामदारको भरमा जापान

जापानमा अक्टोबर २०२४ सम्म २३ लाख विदेशी कामदार पुगेका छन्, जुन अहिलेसम्मकै उच्च हो । यो संख्या अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशत ले वृद्धि भएको हो ।

कामदारको अभाव पूर्ति गर्न जापानी कम्पनीहरूले विदेशीहरूलाई रोजगारी दिइरहेका छन् । जापानमा सबैभन्दा धेरै काम गर्ने विदेशी भियतनामी हुन्, जसको संख्या ५ लाख ७० हजार छ– कुल विदेशी कामदारको २४.८ प्रतिशत ।

त्यसपछि चीन (४ लाख) र फिलिपिन्स (२ लाख ४० हजार) का कामदार छन् ।

हालै म्यानमार, इन्डोनेशिया र श्रीलंका बाट काम गर्न आउनेहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ ।

Share News