काठमाडौं । तुभालु संसारकै साना देशहरूमा पर्छ । प्रशान्त महासागरमा अवस्थित यो देशले अप्रिल १५ मा पहिलो एटीएम स्थापना गरेर इतिहास रचेको छ । यो देश आफ्नो सुन्दरता र शान्त वातावरणका लागि चिनिन्छ ।
सीएनएनका अनुसार अस्ट्रेलिया र हवाईको बीचमा रहेको यो सानो देशमा अहिलेसम्म सबै काम नगदमा हुन्थे । यहाँ कुनै एटीएम थिएन । एटीएमको सुरुवातलाई एक ठूला उपलब्धिको रूपमा लिइएको छ ।
प्रधानमन्त्री फेलेटी तेओले मुख्य द्वीप फुनाफुटीमा यसको उद्घाटन गरे । उनले यो तुभालुको लागि ऐतिहासिक क्षण भएको बताए ।
एटीएमले ल्याउने छ परिवर्तन
नेशनल बैंक अफ तुभालुका महाप्रबन्धक सिओसे तेओले यस नयाँ सुविधालाई 'परिवर्तन ल्याउने' अवसरका रूपमा चित्रण गरेका छन् । उनको भनाइमा यो एटीएमले देशका ११ हजार २०० जनताका लागि प्रगतिको नयाँ ढोका खोल्नेछ । प्यासिफिक टेक्नोलोजी लिमिटेडका निसार अलीले भनेका छन् कि यो एटीएमले तुभालुवासीलाई आधुनिक बैंकिङ सेवासँग जोड्नेछ ।
मात्र १० वर्ग माइलमा फैलिएको देश
तुभालु केवल १० वर्ग माइल क्षेत्रफलमा फैलिएको देश हो । यसमा जम्मा ९ वटा द्वीपहरू छन् । यति सानो भए पनि सन् २०२३ मा ३ हजारभन्दा बढी पर्यटक यहाँ आएका थिए ।
मुख्य द्वीप फुनाफुटीमा रहेको एकमात्र विमानस्थलबाट छिमेकी देश फिजीबीच केही उडानहरू हुन्छन् । द्वीपहरूबीच आवतजावतका लागि यहाँका मानिसहरूले डुङ्गाको प्रयोग गर्छन्, किनकि आन्तरिक उडान सेवा छैन ।
जलवायु परिवर्तनको गहिरो प्रभाव
तुभालुको भौगोलिक स्थिति नै यसलाई चुनौतीपूर्ण बनाउँछ । समुद्रको सतह लगातार बढिरहेको हुँदा यसले जमिनको सतह घटाइरहेको छ र कृषिमा पनि असर पुर्याइरहेको छ ।
तुभालु जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । २०२१ मा तुभालुका परराष्ट्रमन्त्री साइमन कोफेले घुँडासम्म पानीमा उभिएर संयुक्त राष्ट्रसंघमा सम्बोधन दिएका थिए, जसले तुभालुलाई विश्व मञ्चमा चिनायो ।