सीएटीएलको नयाँ सोडियम-आयन ब्याट्री ब्रान्ड सार्वजनिक, ईभीमा आगलागीको जोखिम घटाउने

काठमाडौं । चीनको सीएटीएलले सोमबार आफ्नो सोडियम-आयन ब्याट्रीहरूको लागि नयाँ ब्रान्ड ‘न्याक्स्ट्रा’ सार्वजनिक गरेको छ । जुन कम्पनीले आगामी डिसेम्बरदेखि ठूलो परिमाणमा उत्पादनमा लैजाने जनाएको छ । साथै विद्युतीय सवारीसाधन (ईभी)का लागि दोस्रो पुस्ताको फास्ट चार्जिङ ब्याट्री पनि प्रस्तुत गरेको छ ।

सीएटीएल सन् २०११ मा सोडियम-आयन ब्याट्री सार्वजनिक गर्ने पहिलो प्रमुख अटोमोबाइल ब्याट्री निर्माता बनेको थियो । अन्य ब्याट्री सामग्रीको तुलनामा सोडियम सस्तो र प्रशस्त मात्रामा पाइने भएकाले यसले ईभीमा आगलागीको जोखिम घटाउन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

न्याक्स्ट्रा ब्रान्डअन्तर्गत पहिलो उत्पादन १७५ वाट घण्टा प्रति किलोग्रामको ऊर्जा घनत्व भएको नयाँ सोडियम-आयन ब्याट्री हुनेछ, जुन अहिले प्रचलनमा रहेको लिथियम-आयरन-फस्फेट ब्याट्री सरह हुनेछ- जुन ईभी र ग्रिड-ऊर्जा भण्डारण प्रणालीमा प्रयोग हुन्छ ।

सीएटीएलका अनुसन्धान तथा विकास विभागका सह-अध्यक्ष ओउयाङ चूयिङ का अनुसार, 'प्रविधि र आपूर्ति शृंखला विकसित हुँदै गएसँगै सोडियम-आयन ब्याट्रीहरूले लिथियम-आयन ब्याट्रीभन्दा सस्तो विकल्प बन्न सक्ने सम्भावना छ ।'

सीएटीएलका अरबपति संस्थापक रोबिन झेङ ले पनि सोडियम-आयन ब्याट्रीहरूले कम्पनीले अहिले नियन्त्रणमा लिएको एलएफपी ब्याट्री बजारको आधा हिस्सा प्रतिस्थापन गर्न सक्ने देखिएको बताएका छन् ।

न्याक्स्ट्राबाहेक सीएटीएलले आफ्नो शेनजिङ ब्याट्रीको दोस्रो पुस्ता पनि सार्वजनिक गरेको छ, जसले ५ मिनेटको चार्जमा ५२० किलोमिटरसम्म ड्राइभिङ रेञ्ज दिन सक्छ र चिसो मौसममा १५ मिनेटमै ब्याट्री ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

सीएटीएलका प्रमुख प्राविधिक अधिकारी गाओ हुआनले शाङ्घाईमा आयोजित कार्यक्रममा भनेअनुसार यस वर्ष ६७ भन्दा बढी नयाँ ईभी मोडलहरू शेनजिङ ब्याट्रीबाट चल्नेछन्, तर कुन मोडलमा पहिलो पुस्ता र कुनमा दोस्रो पुस्ता प्रयोग हुनेछ भन्ने खुलाइएको छैन ।

सीएटीएलका ब्याट्रीहरू जडान गरिएका १.८३ करोडभन्दा बढी सवारीसाधनहरू हाल ६६ भन्दा बढी देशहरूमा सञ्चालनमा छन् ।

सीएटीएलले एक नयाँ ब्याट्री संयोजन प्रणाली पनि सार्वजनिक गरेको छ, जुन दुई इन्जिन भएको विमानको प्रणाली जस्तै हो र यसले ईभीको सुरक्षा अझ बढाउने बताइएको छ ।

गएको महिना मात्र सीएटीएलले २०२४ को नाफा १५ प्रतिशतले वृद्धि भएको जनाएको थियो, जुन छ वर्षको सबैभन्दा ढिलो वृद्धिदर हो- किनकि चीनको ईभी बजारमा मूल्य प्रतिस्पर्धाका कारण कम्पनीमा दबाब परेको थियो ।

शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

Share News