काठमाडौं । पोप फ्रान्सिसको अन्त्येष्टि आगामी शनिबारका दिन गरिने भएको छ । भ्याटिकनले जानकारी दिएको अनुसार अन्त्येष्टि स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ ।
पोपको अन्त्येष्टि सेन्ट पिटर बेसिलिकाको अगाडि गरिने जनाइएको छ ।
भ्याटिकनले जनाएअनुसार बुधबार बिहान ९ बजे पोपको पार्थिव शरीर सेन्ट पिटर बेसिलिकामा ल्याइनेछ ।
उनको पार्थिव शरीर अन्त्येष्टि नभएसम्म त्यहीं राखिनेछ ताकि श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सकून् ।
हाल पोपको शरीर सान्ता मार्था आवासको प्रार्थना कक्षमा राखिएको छ, जहाँ उनले पोपको रूपमा १२ वर्षसम्म बसोबास गरेका थिए ।
सोमबार क्याथोलिक समुदायका सबैभन्दा ठूला धर्मगुरु फ्रान्सिसको निधन भएको थियो । भ्याटिकनले जारी गरेको वक्तव्यमा उनको मृत्युको कारण स्ट्रोक आएपछि हृदयगति रोकिएको उल्लेख गरिएको छ ।
पोप फ्रान्सिसको निधन : तलब नलिने सरल नेता, छाडे २१९ करोडको सम्पत्ति