काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।
महासंघको तेस्रो स्थापना दिवस कार्यक्रममा बोल्दै उनले व्यवसायीले सामना गर्नुपरिरहेको नीतिगत तथा कानुनी समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरे ।
उनले मुलुकको अर्थतन्त्रमा घरजग्गा व्यवसायको ठूलो योगदान रहेको उल्लेख गरे ।
सो क्षेत्रमा देखिएका समस्या सम्बन्धित व्यवसायीसँग छलफल गरेर अन्त्य गरिनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले चालु आवको नौ महिनामा घरजग्गा व्यवसायबाट ३३ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए ।
उनले घरजग्गा आवास तथा विकास महासंघमा धेरै समस्या रहेकाले यसमा सहयोग गर्न सरकारसँग आग्रह गरे ।
उनले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनसँग सहकार्य गर्न सहमत रहेको र चाँडै सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सीताराम दाहालले नेपाल घरजग्गा तथा आवास विकास महासंघसँग सहकार्य गर्ने बताए ।
महासंघको कार्यक्रममा बोल्दै दाहालले महासंघप्रति आफूहरू संधै सकारात्मक भएको जानकारी दिए ।
उनले भने, ‘हामी सहकार्य गर्न आधिकारिक रूपमै आतुर छौं । पहिलेका सरकारका कारण परेको असर हाल विस्तारै हल भएपनि लयमा जान सकेको छैन । विगतका भूमि ऐन अव्यावहारिक हुनु, सही मूल्याकंन नहुनु कित्ताको निकास सही कार्यान्वयन नहुनु जस्ता थुप्रै समस्या छन् ।’
सरकारले ल्याएको नीति सकारात्मक रहेको उनको भनाइ छ । अब दुबै महासंघले सहकार्य गरेर अगाडि बढे घर जग्गा कारोबारमा निकै सहयोग पुग्ने उनको जिकिर छ ।